
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दोस्रोपटक भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा जारी छ ।
सर्लाहीको गोडैता र रौतहटको गुजरामा दुई पक्षबीच झडप भएको छ । गोरखा लगायतका केही जिल्लाहरुमा शंकास्पद वस्तु फेला परेका छन् । चितवन क्षेत्र नम्बर १ अन्तर्गत ब्रह्मस्थानी मतदान केन्द्रमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । अन्य स्थानमा भने मतदान शान्तिपूर्ण छ ।
देशका ७७ वटै जिल्लामा बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म जारी रहने छ । मतदान सकिएलगत्तै गणना सुरू गर्ने निर्वाचन आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने बताएका छन् ।
सामान्यतया एक जनालाई भोट हाल्न करिब २ मिनेट लागेको छ । ४ मतपेटिका, ४ मतपत्र र ४ ठाउँबाट निस्किनुपर्ने गर्दा केही जटिलता देखिए पनि निर्धारित समयमा नै मतदान सम्पन्न गर्नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।