आज :

मंसिर ४ को निर्वाचन विरुद्धको अवज्ञा सङ्घर्षमा सहभागी हुन जनसांस्कृतिक महासंघको अपिल

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासंघले आगामी मङ्सिर ४ गतेको निर्वाचन सत्तासीनहरूले आफ्नो लुटको स्वर्ग जोगाउन गर्दै आएको झुटको अर्को नयाँ शृङ्खला बाहेक अरु केहि नभएको प्रष्ट पारेको छ ।

महासंघका संयोजक खेम थपलियाले बिहिबार एक बिज्ञप्ति जारी गर्दै  संसदीय दलहरूको सबैखाले उत्पीडनकारी तथा औपनिवेशीकृत मनसुवा पूरा गर्ने माध्यमको रूपमा हुन लागिरहेको मङ्सिर ४ को निर्वाचनको सशक्त अवज्ञाको आह्वान् गरेका छन् ।

इतिहासको यस घडीमा दलाल तथा फासिवादी शासकहरूको यस्तो लम्पसारवादी र देशद्रोही मनसुवालाई पूरै अवज्ञा गर्न र देश तथा जनताका विरुद्ध बुनिएका कथित झुटका पुलिन्दाको भण्डाफोर गर्नुको कुनै विकल्प नभएको बताएका छन् ।

‘सत्तासीनहरू आफ्नो लुटको स्वर्ग जोगाउन असङ्ख्य झुटका पुलिन्दा बुनिरहेछन् । मङ्सिर ४ को निर्वाचन त्यही झुटको अर्को नयाँ शृङ्खला मात्र हो ।’ विज्ञप्तिमा भनिएको छ- ‘इतिहासको यस घडीमा हामी दलाल तथा फासिवादी शासकहरूको यस्तो लम्पसारवादी र देशद्रोही मनसुवालाई पूरै अवज्ञा गर्दछौँ । देश र जनताका विरुद्ध बुनिएका कथित झुटका पुलिन्दाको भण्डाफोर गर्नुको कुनै विकल्प छैन ।’

इतिहासमा ठुल–ठुला बलिदानको मूल्य जनताले नै चुक्ता गर्दै आएको स्मरण गर्दै उनले तर पनि सत्तामा जनताका तिनै दुश्मन र जनघातीहरू नै हाबी हुँदै आएको प्रष्ट पारेका छन् ।

साम्राज्यवादी, घरेलु प्रतिक्रियावादी तथा दक्षिणपन्थी हावाहुन्डरी मडारिइरहेको यतिबेला अनेक प्रकारका परिघटना देखापरिरहेको र जनयुद्धबाट प्राप्त उपलब्धि ध्वस्त पारिएको समेत विज्ञप्तिमा उल्लेख छ । साम्राज्यवादीहरूको टेकोपोडोमा प्रतिक्रियावादी शासकहरू सबै किसिमका वर्गसङ्घर्ष, तिनमा जनताबाट अभिव्यक्त त्याग, समर्पण र बलिदानी मूल्यका विरुद्ध भयानक षड्यन्त्र गरिरहेको उनले बताएका छन् ।

नेपालमा लामो समयदेखि जनताको रगत–पसिना पिउँदै र हड्डी चपाउँदै आएका जनबैरीहरू नयाँ–नयाँ आबरणमा नयाँ–नयाँ फन्डा गरिरहेको भन्दै उनले यो फन्डाको उपक्रम मङ्सिर ४ को संसदीय निर्वाचनसम्म आइपुगेको र जसलाई पूर्णतः अवज्ञा गर्नु अनिवार्य बन्न गएको प्रष्ट पारेका छन् ।

‘मङ्सिर ४ को निर्वाचनलाई अवज्ञा गर्नु भनेको जनताको महान् सङ्घर्ष र महान् सहिदको सम्मान गर्नु पनि हो । सहिदहरूका रगतले लेखेको इतिहास, उनका जीवनोत्सर्ग, बलिदानको सपना र वैचारिक निष्ठाले प्रतिरोध, बलिदान र वर्गसङ्घर्षको संस्कृतिको निरन्तरताको आवश्यकतालाई नै इङ्गित गरिरहेको छ । हामीलाई फेरि एकपटक शौर्य, साहस र वीरताको यौद्धिकगायन चाहिएको छ । फेरि एकपटक कुची, कलम र मादलसित वर्गीय विचार, आस्था र सघन वर्गसङ्घर्षको अन्तर्घुलन आवश्यक परेको छ ।’ विज्ञप्तिमा भनिएक छ ।

साथै मरणासन्न राष्ट्रघाती तथा जनघाती दलाल संसदीय पुँजीवादी व्यवस्था र यसको प्राणप्रतिष्ठा गर्ने मङ्सिर ४ को निर्वाचनका विरुद्धको अवज्ञा सङ्घर्षमा सहभागी हुन उनले सबै वैकल्पिक व्यवस्थाका पक्षधर विशेष आह्वान गरेका छन् । वैज्ञानिक समाजवादी क्रान्तिको महान् यात्रामा वर्गचेतना, वर्गप्रेम, साम्यवादी सपना र शौर्यका साथ सम्पूर्ण क्रान्तिकारी कवि, कलाकार, लेखक, साहित्यकार एवम् संस्कृतिकर्मीहरूलाई लामबद्ध हुन अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विशेष अपील गरेको छ ।

‘मरणासन्न राष्ट्रघाती तथा जनघाती दलाल संसदीय पुँजीवादी व्यवस्था र यसको प्राणप्रतिष्ठा गर्ने मङ्सिर ४ को निर्वाचनका विरुद्धको अवज्ञा सङ्घर्षमा सहभागी हुन हामी वैकल्पिक व्यवस्थाका पक्षधर सबैलाई विशेष आह्वान गर्दछौँ ।’ विज्ञप्तिमा भनिएक छ- ‘वैज्ञानिक समाजवादी क्रान्तिको महान् यात्रामा वर्गचेतना, वर्गप्रेम, साम्यवादी सपना र शौर्यका साथ सम्पूर्ण क्रान्तिकारी कवि, कलाकार, लेखक, साहित्यकार एवम् संस्कृतिकर्मीहरूलाई लामबद्ध हुन हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ विशेष अपील गर्दछ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal