आज :

निर्वाचन बहिस्कार गर्ने घोषणापछि विप्लवका कार्यकर्तामाथि प्रहरीले बढायो निगरानी, यस्तो छ गृहको तयारी

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिले मङ्सिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिष्कार र खारेजी गर्ने निर्णय गरेका छन् ।

उक्त निर्णयपछि नेपाल प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन सुरु गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार प्रहरीले सुरक्षा सतर्कता बढाइसकेको बताए ।

प्रवक्ता राईका अनुसार निर्वाचन बिथोल्ने चेतावनीपछि सुरक्षा सतर्कता थप बढाइएको भन्दै उनीहरूमाथि निगरानी बढाइएको बताए ।

‘निर्वाचनमा मतदान नगर्ने र बिथोल्ने कुरा एउटै होइन । निर्वाचन बहिष्कार गर्न त पाइयो, तर बिथोल्न पाइएन । निर्वाचन बिथोल्ने गतिविधि हुन लागेमा वा भएमा हामी तत्काल त्यस्ता गतिविधिमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्छौ ।’ डीआईजी राईले भने, ‘उहाँहरूले निर्वाचन बहिष्कारको अभियान चलाउने त संवैधानिक अधिकारकै विषय हो, तर निर्वाचनका अन्य गतिविधिलाई प्रभाव पार्ने, आम मतदातालाई डर धम्की दिने, त्रासमा राख्ने लगायतका काम भयो भने प्रहरी मूकदर्शक भएर बस्दैन ।’

निर्वाचन बिथोल्ने र निर्वाचनको सम्मुखमा आतङ्क फैलाउने काम हुन थालेको भन्दै प्रहरीले विप्लवका कार्यकर्ता र अन्य चुनावमा भाग नलिने र बहिस्कार गर्ने राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।

तनहुँ प्रहरीले तनहुँको बन्दीपुर गाउँपालिका १ बानियाँटारबाट नेकपा माओवादीका संयोजक गौरव भन्ने अमृत सापकोटा, गण्डकी ब्यूरो इञ्चार्ज सागर लगायतलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरी नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य विमल निरौला र वैद्यनिकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव महेश श्रेष्ठलाई पनि मोरङ प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले कात्तिक १६ गते मोरङको बेलबारीबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट निर्वाचन बिथोल्ने प्रचार सामग्री लगायतका वस्तुहरू बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका पूर्व एआईजी धिरु बस्न्यात आगामी निर्वाचनमा विप्लव लगायतका पूर्व माओवादी समूहको सुरक्षा चुनौती रहेको बताउँछन् । लामो समय नेपाल प्रहरीमा रहेर हालसालै अवकाशमा गएका बस्न्यात पूर्व माओवादी समूह भएको पहिले पनि विभिन्न समयमा बम पड्काएको दृष्टान्त रहेको भन्दै उनीहरूको विषयमा सुरक्षा निकाय चनाखो हुनुपर्ने बताए ।

आगामी निर्वाचन शान्तिपूर्णरुपमा पूरा गराउनका लागि सुरक्षा निकायले व्यापकरुपमा सिभिलमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रहरीलाई पनि खटाएर बहिस्कारबादी लगायतका राजनीतिक दल र समूहका सदस्यहरूलाई कडा निगरानीमा राखिने आवश्यक देखिएमा उनीहरूलाई नियन्त्रणमा लिने योजना सुरक्षा निकायले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal