आज :

ललितपुर–३ मा पम्फा भुसाल निर्विकल्प, काँग्रेसका असन्तुष्ट मदन अमात्य पनि प्रचारमा

  • अनलाइन डबली

काठमाडौं । ललितपुर जिल्ला वाम–लोकतान्त्रिकहरूको किल्ला हो । धेरै शहरी र थोरै ग्रामीण क्षेत्र ओगट्ने चुनावी क्षेत्र–३ बाट ०७४ को चुनावमै माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले फराकिलो मतान्तरले जितेकी थिइन । स्थिरता र अग्रगमनको जनअपेक्षा साकार पार्न भन्दै बनेको वाम–लोकतान्त्रिक गठबन्धनकी साँझा उम्मेदवार हुन् भुसाल ।

नयाँ समिकरणले, फेरि उनै पम्फालाई यही क्षेत्रमा स्वाभाविक खडा गरेको छ । माओवादी केन्द्रकी उपमहासचिव एवम् हालकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भुसाल सरकार गठबन्धनको एक शक्तिशाली उमेदवार हुन् । हुनत ललितपुर–३ मा माओवादी केन्द्र स्थानीय चुनावको मत परिणामको आधारमा तेस्रो हैसियतकै शक्ति हो । तर, पम्फा भुसालको व्यक्तित्व र गठबन्धनको एक ढिक्को यात्रा अनि विपक्षी एमालेभित्रको चरम अन्तरविरोधले भुसाललाई अहिले नै विजयको सन्निकट पु-याइसकेको छ ।

उमेरले ६० कटेकी पम्फा भुसाल नेपालको कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनको एक शीर्ष नेतृ हुन । जनयुद्ध सुरु हुनु अगाडि नै पार्टीको संयुक्त मोर्चा, संयुक्त जनमोर्चा, नेपालको अध्यक्ष भइसकेकी भुसाल जनयुद्ध सुरुवात चरणको समेत केन्द्रीय नेतृ हुन । शान्तिप्रक्रियासँगै संविधानसभाबाट नयाँ संविधान निर्माण चरण र त्यसक्रमका पार्टीगत, राजकीय जिम्मेवारीमा उनले आफूलाई जनपक्षधरतामा अरु खरो सावित गरेकी छन् ।

अहिले पनि ऊर्जा मन्त्रालयमा उनको नेतृत्व अरु कयौंको जस्तो औपचारिक मात्र होइन । विद्युत परियोजनाको प्रभावकारी विस्तारदेखि २० युनिटसम्म विजुली खपत गर्ने गरीव नेपालीलाई निशुल्क बिजुली दिने काम उनकै नेतृत्वमा सम्पन्न भएको छ । कुनै बेला दैनिक १८ घन्टासम्म लोडसेडिङ भोग्नुपर्ने देशले बिजुलीको बढी खपतका लागि जनतालाई उत्साहित गर्नुपरेको सुखद स्थिति छ । अब कमसेकम सरकारी र सार्वजनिक क्षेत्रमा इन्डक्सन चुलोको प्रयोग र आमक्षेत्रमा इन्डक्सन चुलोमा सहुलियत उनका कार्यक्रमिक प्राथमिकता हुन ।

भुसालकै नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार सुरु गरिसकेको छ भने अझै विद्युत नपुगेका देशका कतिपय दुर्गम क्षेत्रमा विद्युत पुर्याउने  प्रभावकारी रणनीति सुरु भइसकेको छ । यससँगै पम्फा भुसालले निर्वाचन क्षेत्र केन्द्रीत आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन तथा महिला केन्द्रीत विशेष योजना र कार्यक्रमहरू समेत जाहेर गरेकी छिन् । विकास एक औपचारिकता मात्र होइन, त्यसले जनताको जीवन समेट्नुपर्छ, विकासले जनताको न्याय बोक्नुपर्छ भन्ने मान्यतामा भुसाल प्रष्ट छिन ।

स्थानीय चुनावको मत परिणामका आधारमा गठबन्धन दलहरू र एमालेको फराकिलो मतान्तर छ । ठूलो मतदाता संख्या ओगट्ने ललितपुर महानगरबाट गठबन्धनका चिरीबाबु महर्जन मेयर छन् । एमालेहरूले गठबन्धनका हारेका उपमेयर बाबुराजा महर्जन एमालेका गइसकेकाले भुसाललाई अप्ठेरो पर्ने प्रचार गरे पनि बाबुराजाको एकल मत मात्र प्रभावित भएको, संगठनमा कुनै असर नपरेको माओवादी केन्द्रको बुझाइ छ । त्यसो त पछिल्ला दिनमा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको समेत गनिनसक्नु लर्को छ ।

भुसालको प्रतिद्वन्द्वीका रूपमा एमालेले अमृत खड्कालाई अगाडि सारेको छ । २० औं बर्ष पार्टीबाट बिछट्ट रहेर वा पार्टी विरोधी गतिविधि समेत गरेर बसेका वैदेशिक व्यापारी खड्का अकस्मात संघीय उमेदवारका रूपमा देखापरेपछि एमालेको एउटा पंक्ति आक्रोशित र निरास छ । स्थानीय पार्टीले बाबुराम थापालाई टिकट दिन चाहेको थियो । शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भइसकेका थापा जिल्ला र उक्त निर्वाचन क्षेत्रमा बौद्धिक नेताका रुपमा समेत चिनिन्छन् । तर, टिकट खड्काले पाए । यसले एमालेको एउटा पंक्ति आक्रोसित र निरास मात्र होइन, सम्पूर्ण रूपमा निस्क्रिय समेत बनेको छ ।

विवेकशील साझा पार्टी भनिनेको अधोगतिसँगै उज्ज्वल कृष्ण श्रेष्ठ जस्ता युवाहरू ललितपुर–३ मा प्रभावहीन भइसकेका छन् । सुविधाको पदमै रहेर चुनाव लड्ने लोभका कारण स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको चरणमा छ । राप्रपा वरिपरिका राजावादीको यहाँ खासै हिसाव छैन ।

एमालेमा आक्रोश र निरासा अभिव्यक्त हुँदा ललितपुरको नेवारी समुदायमा राम्रो पकड रहेका माओवादी केन्द्रका नेता राजकाजी महर्जन प्रदेश उम्मेदवारका रुपमा भुसालको बलियो साथमा छन् । अनि काँग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ समेत प्रदेश गठबन्धन पक्षमा अहोरात्र खटेका छन् । असन्तुष्ट भनेर प्रचार गरिएका कांग्रेसका संघीय उम्मेदवारका आकांक्षी मदन अमात्य समेत भुसालको प्रचारमा जुटिसकेका छन् । त्यसैले ललितपुर–३ मा पम्फा भुसाल निर्विकल्प जीत सन्निकट छिन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal