आज :

लमजुङमा वाम-लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चितः गुरुङ

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देवप्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र मन्चहरूले काठमाडौंमा आयोजना गरेको दिपावली छठ लगायतका चाडपर्वको शुभकामना तथा उमेदवार परिचय कार्यक्रममा सम्वोधन गर्दै महासचिव गुरूङले राजनीतिक स्थिरता, सुशासन,लमजुङको विकास र समृद्धिको लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।

”हामीले हाम्रो उमेदवारी फगत निर्वाचन जित्नको लागि मात्रै नभएर लमजुङको विकास र समृद्धिको लागि दिएका हौं । सुशासनसहितको विकास र बजार व्यवस्था सहितको उत्पादन प्रणालीमार्फत जनताको आर्थिक समृद्वि हाम्रो मुख्य एजेण्डा हुन् । त्यसको लागि कृषिमा यान्त्रिकरण, भएका सडक कालोपत्रे, नयाँ सडक विस्तार गरि उत्पादन केन्द्र सम्म पुर्याउने र पर्यटन तथा जलविद्युत्का सम्भावनालाई अत्याधिक मात्रामा उपयोग गर्ने योजना छ । गठबन्धन यो चुनावसम्म मात्रै नभएर सरकार निर्माण, संविधान रक्षा र शान्ति प्रक्रियाको पुर्णताको लागि पनि आवश्यक रहेकाले पनि गठबन्धनको जित आवश्यक रहेको छ । याे कुरा लमजुङका मतदाताले बुझेकोले गठबन्धनको जित सुनिश्चत छ” गुरुङले भने । उनले ढुक्कसँग गठबन्धनका पक्षमा मत हाल्न अपील समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीले ओली मण्डलीले संविधान मिच्ने र निरंकुशता लाद्ने प्रयास गरेकाले माओवादीसहितको गठबन्धन बनेकाले संविधानको रक्षा र लमजुङको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई ढुक्कसँग भोट दिएर जिताउन कांग्रेससहित सबै दलका कार्यकर्ता र मतदातालाई आग्रह गरे । उनले देव गुरूङ जस्तो नेतालाई आफुहरूले साझा उमेदवारको रूपमा प्रान्त गर्नु लमजुङको लागि गौरवको विषय भएको बताए ।

त्यसैगरी लमजुङको प्रदेश सभा क का उमेदवार तथा कांग्रेस लमजुङका सभापति डा. टकराज गुरूङले आफुहरूको लमजुङको विकास समृद्धि र संविधान रक्षा बाहेक कुनै स्वार्थ नरहेको भन्दै गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताए । उनले लमजुङको भाग्य र भविष्यको जिम्मेवारी गठबन्धनमा रहेकाले प्रतिगमनकारी एमाले गठबन्धनलाई पराजित गरि लमजुङको विकास र समृद्धिको ग्यारेण्टी गर्न पार्टी कार्यकर्ता र मतदातालाई आग्रह गरे ।

प्रदेश सभा ख का प्रत्यासी भेषबहादुर पौडेलले लमजुङको विकास र समृद्धि अब टाढा नभएको बताए । उनले गठबन्धनका उमेदवारहरूको साझा उमेदवारीले त्यो संकेत गरिसकेको बताए । आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै पौडेलले आफुसँग लमजुङको विकास पर्यटन, कृषि, उद्योग र जलविद्युतमार्फत हजारौंको रोजगारीको योजना रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका लमजुङ इन्चार्ज तथा समानुपातिक उमेदवार पारसमणी पौडेलले गठबन्धनका उमेदवारको जितलाई सुनिश्चित गर्न काठमाडौंवासी लमजुङका मतदाताहरूको निर्णायक भुमिका हुने बताए ।

कार्यक्रममा नेकपा एस का जिल्ला अध्यक्ष रामबाबु अधिकारीले गठबन्धनका दलहरूबीचमा कुनै समस्या नभएको तथा प्रतिद्वन्दी दल एमालेमा गम्भीर विवाद र असहमति देखिएकाले गठबन्धनका उमेदवारहरूको जित सुनिश्चित रहेको बताए । सो अवसरमा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उमेदवार उर्मिला माझी, तारा कुमाल, कांग्रेसको प्रदेश सभा उमेदवार टीका बस्याल, पार्वती तामाङले पनि गठबन्धनका उमेदवारलाई जिताउनु प्रमुख जिम्मेवारी रहेको बताउँदै आफ्नो दललाई समानुपातिक तर्फ मतदान गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal