आज :

तिहारै आयो लौं झिलिमिलीः भाइटीका १० गते, राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने 

  • अनलाइन डबली

काठमाडौं । आजबाट तिहार सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले बेलुकी यमदीप दान सुरु हुनेछ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भने भोलि परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । समितिका अनुसार भोलि बेलुकी ५ बजेर ४ मिनेटसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने भोलि आइतबार परेको छ । तिथिको घटबढका कारण पर्सि सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । पर्सि ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

गाईपूजा ८ गते मङ्गलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म अर्थात म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत ११४३ पनि बुधबारदेखि सुरु हुने समितिले जनाएको छ । यस वर्षको भाइटीका १० गते बिहीबार परेको छ । १० गते बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

यसैबीच काठमाडौंमा रातको नौ बजे पछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति निकालेर आफ्नो चिनजान भएको ठाउँमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध समेत गरेको छ ।

परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले तिहारमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ । परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ । जाँडरक्सी खाएर गाडी नचलाउन, सार्वजनिक ठाउँमा जाँडरक्सी र चुरोट नखान, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

यस्तै छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबाया जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीको अनुरोध छत । यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन तथा गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal