आज :

ओलीले भीम रावललाई होली वाइनको प्रचारक भनेपछि…..

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई होली वाइनका प्रचारक भनेकोमा आपत्ति जनाएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले होली वाइनका प्रचारक एकनाथ ढकाल नभइकन भीम रावल भएको बताएका थिए।

‘होली वाइनका प्रचारक एकनाथ ढकाल होइनन्। होली वाइनका प्रचारक त भीम रावल होला। एकनाथ ढकालले होली वाइन भनेर एक शब्द भनेको मैले सुनेको छैन। भीम रावलले बोलेको होला,’ ओलीले भनेका छन्,‘कुनै कुरालाई आलोचना गर्नु, असहमति राख्नु एउटा कुरा हुन्छ त्यसलाई विकृत रूपमा प्रस्तुत गर्नु जायज हुँदैन।’

‌ओलीले आफूलाई नै होली वाइनका प्रचारक भनेपछि बिहीबार सामाजिक सञ्जालमा रावलले यस्तो भन्न सक्नेले अरू के मात्र गर्न बाँकी राख्छन् होला र भन्नै प्रश्न गरेका छन्।

उनले लेखेका छन्- दुर्नाम संस्थाका होली वाइन भनी चिनिने एकनाथ ढकाललाई प्रतिनिधि सभा सदस्य बनाउने गलत निर्णय उदांग भएपछि एमाले अध्यक्ष केपीले होली वाइनको प्रचारक भीम रावल भन्नुभएछ। यस्तो भन्नसक्नेले अरू के मात्रै गर्न बाँकि राख्छन् होला र ? राजनीति विकृत त्यसै भएको हो र!

जापानको युनिफिकेसन चर्चसँग जोडिएका एकनाथ ढकाल प्रतिनिधि सभा सदस्यका लागि एमालेको समानुपातिक सूचीमा छन्। उनलाई सूचीमा राखेकोमा रावलले यसअघि पनि आपत्ति जनाएका थिए।

ढकालले युनिफिकेसन चर्चका नाममा नेपालमा विभिन्न कार्यक्रम गर्दै आएका छन्। २०७५ मंसिरमा एकनाथ जोडिएको युनिफिकेसन चर्चले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गरेको थियो। उक्त सम्मेलनका नेपालका सबै राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएको र उनीहरूले होली वाइन पिएको भन्दै आलोचना भएको थियो।

यसअघि नेपाल परिवार दल खोलेका उनी सोही पार्टीबाट दुई पटक सांसद भएका थिए। २०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी पहिलो पटक सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए। २०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनी फेरि शान्ति मन्त्री बनेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्धका कारण आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि पनि उनी एमालेको समानुपातिक सूचीमा परेका हुन्। २०७४ मा पनि उनी एमालेको समानुपातिक सूचीमा थिए।

जापानका प्रधानमन्त्री फुमिओ किसिदाले केही दिनअघि युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि किसिदाले अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

गत जुलाई ८ मा चुनावी अभियानमा रहेका बेला आबेलाई गोली हानिएको थियो। आबेलाई गोली हान्ने व्यक्तिले आफ्नी आमाले थुप्रै पैसा चर्चलाई दान दिएको र त्यसैका कारण टाट पल्टिएको बताएका छन्। आबेले त्यही चर्चलाई प्रवर्द्धन गरेको भन्दै उनीमाथि गोली हानेको उनले प्रहरीलाई बताएका थिए।

त्यसपछि उक्त चर्चसँग राजनीतिज्ञहरूको सम्बन्ध र राजनीतिक सम्बन्धकै कारण उक्त चर्चले पाएका सुविधाबारे छानबिन गर्न चर्को माग उठेको थियो। उक्त चर्चसँग विभिन्न नेताहरूको सम्बन्ध देखिएपछि प्रधानमन्त्री किसिदाले माफी मागेका थिए। धार्मिक समूहका रूपमा रहेको उक्त चर्चमाथि अनुसन्धान गर्न सुरूमा आनाकानी गरेका प्रधानमन्त्री किसिदाले सोमबार चर्चमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

युनिफिकेसन चर्चको स्थापना सन् १९५० को दशकमा कोरियाली नागरिक सन म्योङ मुनले स्थापना गरेका हुन्। केही वर्षपछि यसको बिस्तार जापानमा पनि भएको थियो। चर्चले आफ्ना स्टाफहरूलाई नेताहरूको कार्यालयमा स्वंयसेवकका रूपमा पठाउने गर्छ। त्यसैबाट राजनीतिक सम्बन्ध बिस्तार गर्छ।

यो चर्चलाई द फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन भनिन्थ्यो। तर अहिले धेरैले यसलाई युनिफिकेसन चर्च भनेर चिन्छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal