आज :

उपाधि जित्न सराङकोटबाट उडेका थिए निसिम, तर उडेको ५ मिनेटमै यसरी त्यागे संसार…, सबै स्तब्ध

  • अनलाइन डबली

पोखरा । प्याराग्लाइडिङ खेलाडी निसिम थापा नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङतर्फ उपाधिका मुख्य दाबेदार थिए। प्रशिक्षक एवं रेफ्री सुरेन गुरूङका अनुसार अन्य खेलाडीले भन्दा निसिमले धेरै मेहेनत गरेका थिए।

उडानका क्रममा दुर्घटनामा पर्थेनन् भने उनले नवौं राष्ट्रिय खेलकुदको उपाधि हात पार्न सक्थे। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा शनिबार रेफ्री सुरेनले खेलाडीलाई प्याराग्लाइडिङको प्रशिक्षण दिएका थिए।

गण्डकी, बागमती, प्रदेश- १ नेपाली सेना, सशस्त्र प्रहरी बलबाट ४-४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए। कर्णाली प्रदेशबाट १ जना खेलाडीले पनि प्याराग्लाडिङमा भाग लिएका थिए। प्याराग्लाइडिङमा जम्मा २५ जना खेलाडी सहभागी प्रतियोगितामा आइतबार निसिम आठौं नम्बरमा आएका थिए।

सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो। रेफ्री सुरेनका अनुसार सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो। पाइलट उडेर कहाँसम्म पुग्ने जिपिएसमै प्वाइन्ट गरिएको थियो। खेलाडीका जिपिएस सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो।

प्याराग्लाइडिङ प्रतियोगिता सुरू गर्नुअघि रेफ्री सुरेनले सबै खेलाडीलाई सराङकोटस्थित प्याराग्लाइडिङ टेक अफ गर्ने ठाउँमा लगे। त्यहीँ खेलाडीले पालना गर्नुपर्ने नियमबारे जानकारी गराए।

प्रतियोगिता सुरू गर्नुअघि आवश्यक तयारी पूरा भएपछि हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे।

‘खेलाडीलाई उडाउनुअघि म प्याराग्लाइडिङमा उडें, हावाको चाप नर्मल भएपछि खेलाडीले उड्ने अनुमति पाए,’ सुरेनले भने, ‘२५ जना खेलाडीमा निसिम नै पहिलो उडेका थिए।’

आकाशबाट प्याराग्लाइडिङमा उडेर रेफ्री सुरेनले खेलाडी उड्दै गरेको हेरिरहेका थिए। जब निसिमले सराङकोटको डाँडाबाट धर्ती छाडे, उनी करिब ५० मिटर माथिसम्म पुगे।

आकाशबाट हेरिरहेका रेफ्री सुरेनका अनुसार निसिमको प्याराग्लाइड खुलेन। उनको प्याराग्लाइड खुम्चिन पुग्यो। ‘निसिमको ग्लाइडर कोल्याप्स भयो, आकाशमा उड्दा कहिलेकाहीं यस्तो हुन्छ,’ उनले भने, ‘ग्लाइडर खुल्न नसक्दा दु:खद दुर्घटना हुन पुग्यो।’

जमिनबाट जम्मा ५० मिटरमाथि भएका कारण पनि दुर्घटना हुन पुगेको रेफ्री सुरेनको भनाइ छ। खेलाडी निसिमले जमिन छाडेको करिब ५ मिनेटमै प्याराग्लाइड खुम्चिन पुगेको थियो। अग्लो स्थानमा हुन्थ्यो भने पाइलटले ग्लाइड फुकाउन सक्थे।

‘हाइटमा भएको भए उद्धार गर्न सकिन्थ्यो, पाइलटसँग पनि अर्को प्यारासुट हुन्थ्यो, त्यहीमार्फत् ल्याण्ड गर्न सक्थे,’ उनले भने, ‘हाइट नहुँदा कोल्याप्स हुन पुग्यो।’ विगत १० वर्षदेखि प्याराग्लाइडिङमा लागेका गोरखा पालुङटारका पाइलट निसिमले देशविदेशमा प्याराग्लाइडिङ खेलेका छन्।

आठौं राष्ट्रिय खेलकुदमा पनि नेपाली सेनाबाट सहभागी भएका उनले यसपालि पनि सेनाको प्रतिनिधित्व गरेर प्याराग्लाइडिङ प्रतिस्पर्धामा उत्रिएका थिए। प्याराग्लाइडिङ खेलाडीका रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निसिमले नेपालमा मात्र होइन, भारत, इन्डोनेसिया, कोरिया लगायतका देशमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएका थिए।

पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडाउँदै आएका निसिम उपाधि प्रतिस्पर्धामा उत्रिएका थिए। प्याराग्लाइड खुल्न नसक्दा उनी सराङकोटमा निर्माणाधीन एक अपार्टमेन्टको संरचनामा बजारिन पुगे। तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले उनको उद्धार गरेर मेट्रोसिटी अस्पताल पुर्‍याए।

अस्पतालका चिकित्सकले उनको निधन भइसकेको घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए। प्रतियोगिताका क्रममा खेलाडीको निधन भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेल स्थगित भएको छ। प्रतिस्पर्धाका क्रममा देशले एक जना प्रतिभावान् प्याराग्लाइडिङ खेलाडी गुमाएको अर्का पाइलट उमेश पहारीले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal