काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था जनताको समृद्धिको दिशातिर जानु पर्नेमा अन्तै गइरहेको बताएका छन् । माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले संसदीय व्यवस्था गलत दिशातिर गइरहेको समेत बताए ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महराले भने, ‘वास्तवमा संसदीय व्यवस्था अघि बढ्दै जाँदा जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर भन्दा कतै अन्त नै जाँदै छ कि भन्ने मलाई आभास भएको छ । नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको छ ।’
उपाध्यक्ष महराले नेपालको व्यवस्थाप्रति समेत नकरात्मकता आउन थालेको बताउँदै व्यवस्था नकरात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको बताए । उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधान संगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएको बताए ।
महराले आर्थिक रुपले देश विस्तारै शो डाउन हुँदै गएको दाबी समेत गर्दै व्यवस्थाप्रति पनि अलिकति नेगेटिभ चिज जान लागेकाे बताए । नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताउँदै उनले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको समेत बताए ।