
काठमाडौँ । जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमाले केन्द्रीय सदस्य रहेका चर्चित नेता बद्रीप्रसाद न्यौपानेले एमाले छोडेको घोषणा गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेको प्रति घोर आपत्ति जनाउदै राजीनामा दिएका हुन् । देश र जनताको पक्षमा नभई विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ ।
उनले विज्ञप्तिमा भनेका छन्– ‘हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सँग एउटा राष्ट्रवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको कहिले पनि हित नचाहने र भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टी जसपासँग जनताको माग विपरीत पार्टी कार्यकर्ताको मागलाई वेवास्ता गर्दै जुन तरिकाले गठबन्धन गरेको छ त्यो देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट नेकपा एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’
उनले चुरे भावर आन्दोलनका सहिद र घाइतेप्रति उच्च सम्मान गर्दै आजकै दिनबाट स्वतन्त्र भई देश र जनताको हितमा रही काम गर्ने उल्लेख गरेका छन् ।
यता जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साहलाई निलम्बन गरेको छ । गत असोज २१ गतेका दिन महोत्तरी–३ को क्षेत्रीय कार्यक्रममा अमर्यादित र अभद्र क्रियाकलाप गरेको भन्दै पार्टीले उनलाई निलम्बित गरेको छ ।
केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्णबहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही २०७९ आश्विन २१ गतेका दिन महोत्तरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साह लगायतका केही व्यक्तिहरूबाट भएको अमर्यादित र अभद्र क्रियाकलापले गर्दा सो दिनको भेला मात्र भाँडिएन, उक्त दिन खास गरी महिला माथि गरिएको अपमान, हातपात तथा अभद्र कार्यप्रति पार्टीको ध्यानाकर्षण भएको छ ।’
पार्टी विधि, पद्धति विपरीत अनुशासनहीन कार्य गर्ने, महिला नेतृहरुमाथि हातपात तथा अपमान एवम् अभद्र व्यवहार गर्ने साहलाई पार्टी विधानले गरेको व्यवस्था बमोजिम निलम्बन गरिएको पार्टीले जनाएको छ । घटनाको छानबिन गरी पार्टीले आवश्यक निर्णय लिने समेत जानकारी दिइएको छ ।