
काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ।
आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरी आचारसंहिताको उल्लंघन भएको भन्दै सात दिनभित्र जवाफ दिन आयोगले भनेको हो।
आयोगले प्रचण्डलाई पठाएको पत्रमा भनिएको छ, ‘यहाँको मनोनयनमा बाजागाजा प्रयोग गरेको हो भने यहाँलाई आचारसंहिता २०७९ को दफा १३ को खण्ड ‘ण’ उल्लंघनमा कारबाही किन नगर्ने?’
आयोगले श्रव्यदृश्य सामग्रीका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधेको हो। मनोनयन दर्ताका लागि पञ्चेबाजासहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको हो ।
आयोगले बुधबार दिउँसोसम्म मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।
अब प्रतिनिधिसभातर्फ २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ। जसमा २ हजार १८७ जना पुरूष र २२५ जना महिलाको उम्मेदवारी कायम भएको छ।
यस्तै प्रदेशसभातर्फ ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ। जसमा २ हजार ९४३ जना पुरुष, २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको हो।