
काठमाडौँ । फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ ।
देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ ।
डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवा माथी परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवा बिरुद्ध सोमवार उजुरी परेको थियो ।
सूचना पाटीमा टाँसिएको ब्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्रीसमेत रहेको देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराएका थिए ।
मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ ।
भोलि विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथि भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताए ।
आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएको छ ।