आज :

उपेन्द्र, सीके र जयप्रकाश एकै ठाउँबाट भिड्दै, कसको अवस्था केछ, कसलाई कसको साथ् ?

  • अनलाइन डबली

काठमाडौँ । जनप्रतिनिधि फेरिरहने क्षेत्रमा पर्छ, सप्तरी २ । आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले २०४८ र २०५१ मा जिते यता कसैले पनि यो क्षेत्रबाट दोहोरिएर चुनाव जितेका छैनन् ।

संविधानसभा निर्वाचन–२०६४ मा मा सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभा–२०७० मा महेशले जम्मा ४६ मत प्राप्त गरे । माओवादीका उमेश यादव विजयी भए । २०७४ को निर्वाचनमा उमेशलाई हराएर तत्कालीन संघीय समाजवादी फोरमका उपेन्द्र यादव विजयी भए ।

हाल जनता समाजवादी पार्टीका अध्यक्ष रहेका यादवले यो पटक सप्तरी–२ मै उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनमा रहँदासम्म सुरक्षित देखिएका उनले एमालेसँग तालमेल गरेका छन् । एमालेसँग १४ जिल्लामा तालमेलको सहमति गरेसँगै यादव बारा २ वा सप्तरी १ मा जाने चर्चा चलेको थियो ।

आइतबार उनले सप्तरी २ मै उम्मेदवारी दर्ता गरे । जिल्लाका नेतासहित राजविराजस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।

सीके राउत र जयप्रकाश ठाकुर बलियो प्रतिस्पर्धी
उपेन्द्र यादवले उम्मेदवारी दिएको क्षेत्रबाट सत्ता गठबन्धनको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ को चुनावमा तत्कालिन राजपाबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका नेता ठाकुरले ९ हजार ४५८ मत पाएका तिए । ठाकुर निकट नेताहरुका अनुसार यो उनको व्यक्तिगत मत हो । यो पटक पार्टीबाटै उम्मेदवार बनेका छन् भने सत्तारुढ गठबन्धनको साथ भएकाले उनी बलियो उम्मेदवार हुन् ।

यही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा जनमतको ठूलो पकड छैन । यद्यपि राष्ट्रिय अध्यक्ष नै यहाँबाट लड्दा व्यक्तिगत भोट पाउने नेताहरुको दाबी छ ।

त्यो गठबन्धन, यो गठबन्धन
२०७४ सालमा उपेन्द्र आफ्नै नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट चुनाव लडेका थिए ।

मधेस आन्दोलनको रापताप बाँकी थियो भने ससफोले तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) सँग प्रदेशभर गठबन्धन गरेको थियो । त्यसमाथि कांग्रेसले पनि सकलदेव सुतिहारको उम्मेदवारी फिर्ता गराएर उपेन्द्रलाई समर्थन गरेको थियो । त्यसैले गृहजिल्लाबाट लडेको पहिलो चुनाव उपेन्द्रलाई सहज भयो ।

यसपटक जसपाको आफैं अवस्था पनि राम्रो छैन । आन्दोलनको रापताप छैन भने सहयात्री फेरिएको छ । सत्ता गठबन्धनबाट बाहिरिएको जसपाले एमालेसँग सहकार्य गरेको छ र, सप्तरी–२ मा अरु दलका तुलनामा एमाले कमजोर छ ।

३० वैशाखको स्थानीय निर्वाचन हेर्दा यो क्षेत्रमा पर्ने चार पालिकामध्ये एउटामा जसपाले जितेको छ । जसपाले राजविराज नगरपालिकामा जित्दा छिन्नमस्ता र महादेवामा लोसपा र तिलाठी कोइलाडी गाउँपालिकामा कांग्रेसले जितेको छ ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका अधारमा हेर्दा जसपा पहिलो स्थानका छ । उसले १४ हजार ४०३ मत पाएको भने दोस्रो स्थानमा रहेको कांग्रेसले १० हजार ८०७, लोकतान्त्रिक समाजवादी पार्टीले पनि १० हजार ४३५ मत पाएको छ ।

माओवादीको ९ हजार ५३४ र एमालेको ५ हजार ९५१ र जनमतको ४ हजार ५४२ मत छ । गठबन्धनमा आवद्ध दलको मत जोड्ने हो भने जसपा अध्यक्ष यादव ठूलो मतान्तरले पछाडि देखिन्छन् ।

सत्ता गठबन्धन छाडेर एमालेतिर लागेकोमा स्वयं जसपा नेताहरु समेत सन्तुष्ट देखिएका छैनन् । ‘हिजो मात्रै केपी शर्मा ओलीविरुद्ध प्रतिगमनकारीको नारा लगायौं, अनि आज मात्रै कसरी ओली राम्रो भयो भनेर भन्नु’ एक नेता भन्छन्, ‘बरु एक्लै चुनावमा गएको भए धेरै ठाउँमा जित्न सहज हुन्थ्यो ।’

जसपा अध्यक्ष यादवले भने सिटको तालमेलले विचारलाई छेक्न नसक्ने प्रतिकृया दिएका छन् । भन्छन्, ‘राजनीतिक रुपले आफ्ना विचारधारा छन् । यसमा सहमत, असहमत छँदैछ, यो सिटको तालमेल हो । सिट तालमेलले विचारलाई छेक्दैन ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal