आज :

संविधान विपरित राष्ट्रपतिले चालेको कदमबारे उपराष्ट्रपति पुनले मुख खोले, कसलाई के भने ?

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्ट बनेका छन् । उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका छन् ।

बुधबार एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्पष्ट गरेका हुन् ।

संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनि आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ । ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

उनले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह समेत गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर दोस्रो पटक पठाइएको नागरिकता विधेयक मंगलबारसम्ममा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने भएपनि गरेकी थिइनन् । राष्ट्रपतिले संविधानअनुसार आफूले गर्नुपर्ने कार्य नगरेर संविधानको उलंघन गरेको आरोप लागेको छ।

पूर्व राष्ट्रपतिले के भने ?
यस्तै पूर्वराष्ट्रपति डा रामवरण यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने भन्दै जनतालाई सचेत रहन आग्रह गरेका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबै सचेत हुनुपर्ने बताए । संसदबाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइको विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको पूर्व राष्ट्रपति यादवको भनाइ थियो ।

उनले विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदा हुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत भएको बताए । उनले लोकतन्त्रका लागि यो घटना सामान्य र राम्रो नभएको प्रस्ट पारे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal