
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की प्रमुख सचेतक दुर्गा बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा संसदीय दलकी प्रमुख सचेतक बिक शुक्रबारलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् । बिकसँगै एकीकृत समाजवादीका आधा दर्जन नेता माओवादीमा प्रवेश गरेका छन् ।
त्यसैगरी शुक्रवार नै थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय वैद्य, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अरविन रावतलगायत पनि माओवादीमा प्रवेश गरेका छन् ।
प्रमुख सचेतक बिकले समाजवादी पार्टी विधान र पद्धतिभन्दा व्यक्तिको मनोमानी र स्वेच्छाचारी ढंगले चल्न थालेपछि आफूहरुले पार्टी परित्याग गरेकी बताइन् । उनले पार्टी बनाउन धेरै मेहनत गरेको तर हाल विधि र विधान अनुसार नचलेपछि बाध्य भएर विकल्प रोज्नु परेको बताइन् । बिकले प्रदेश अध्यक्ष हर्क बहादुर सिंह, उपाध्यक्ष शेर बहादुर कुँवरले पार्टीलाई परिवार जस्तै चलाउन खोजेको समेत बताइन् ।
यसैबीच नेकपा (एमाले) महोत्तरी रामगोपालपुर नगरपालिका अध्यक्ष श्यामसुन्दर राय कुर्मी पनि आजै माओवादीमा प्रवेश गरेका छन् । उनलाई पार्टी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । कुर्मीले एमालेमा कमरेडली भन्दा पनि बा प्रवृति बढ्दै गएकोले आफू त्यहाँ बस्न नसकेको बताए । एमालेमा चाकरी र चाप्लुसी गर्न सक्ने मात्रै अटाउन सक्ने समेत बताए ।