आज :

चार दिने भ्रमण सकेर चान्सु स्वदेश फर्किए, सभामुखले गरे विदाइ

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन्।

उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट विदाई गरेका छन्। नेापलमा रहँदा नेता लीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए।

बुधबार मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

बुधबार बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारू गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसीहितका विविध विषयमा छलफल भएको थियो ।

मंगलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो। सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो।

सोही दिन नै अध्यक्ष ली र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको थियो। संघीय संसद् भवन नयाँ बानेश्वरमा सोही दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो ।

मंगलबार दिउँसो परराष्ट्रमन्त्री नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो।

अध्यक्ष ली नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल विशेष विमानबाट सोमबार काठमाडौं आएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal