आज :

संसद बैठकबाट पारित भएपछि राष्ट्रपति भण्डारीले गरिन विधेयक प्रमाणीकरण

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

यस्तै स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले यसअघि नै प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक भने प्रमाणीकरण गरेकी छैनन् । सो विधेयकबारे राष्ट्रपतिले निरन्तर परामर्श गर्दै आएकी छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरूलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्‍याउन सुझाव दिइन् ।

उनले भनिन्, ‘राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र जनतालाई गुणस्तरीय सेवा दिनेलगायत सामाजिक कार्यमा लाग्नुस् ।’

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर प्रदान गर्ने दल र आममतदातालाई धन्यवाद ज्ञापन गर्न सल्लाह दिँदै पुनः जिम्मेवारी प्राप्त गर्ने वा के गर्ने भन्नेमा चिन्ता नलिई ढुक्कका साथ सामाजिक काममा सक्रिय हुन सुझाव दिएकी थिइन् ।

यस अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनकै संयोजनमा काठमाडौंमा आयोजित स्वास्थ्य सतर्कतासम्बन्धी कार्यक्रम तथा प्रदेश सभामुख र उपसभामुखले प्रदेश नं १ को आयोजनामा धनकुटामा भएको आफ्नो कार्यकालको समीक्षाको निष्कर्ष प्रस्तुत गरे ।

उनीहरूले प्रदेशको अभ्यास नयाँ संरचना भए पनि विविध चुनौतीका बीच सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताएको राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

बिदाइ भेट गर्न पाँच प्रदेशका सभामुख र उपसभामुख तथा लुम्बिनी प्रदेशका उपसभामुख शीतल निवास पुग्नुभएका हुन् । उक्त बिदाइ कार्यक्रममा मधेस प्रदेशका सभामुख र उपसभामुख भने उपस्थित थिएनन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते घोषणा भइसकेको छ । साथै आगामी असोज १ गतेदेखि कार्यकाल समाप्त हुन लागेका बेला उनीहरूले राष्ट्रपतिसँग बिदाइ भेट गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal