आज :

श्रीमानलाई पछ्याउँदै फुल्चोकी पुगेकी रूपाले ‘कि मर कि मलाई मारिदे’ भनेपछि लामाले यसरी गरे हत्या…

  • अनलाइन डबली

काठमाडौँ।  बिहानै मादक पदार्थ सेवन गरेर रूपा क्षेत्री त्यसदिन आफ्ना श्रीमानको घरमा पुगिन्। दोलखाका ६३ वर्षीय घ्याल्मो लामा ललितपुरको हरिसिद्धीमा आफ्नी छोरीसँगै बस्थे।

भदौ १६ गते बिहान करिब १० बजेतिर रूपा डेरामा पुगेर श्रीमान घ्याल्मोसँग झगडा गरिन् र दुई थप्पड हिर्काइन्। उनी घ्याल्मोकी तेस्री श्रीमती हुन्। रूपा पनि हरिसिद्धीमै छुटिएर बस्दै आएकी थिइन्।

उनीहरू दुबै जना ज्यामी काम गर्थे। ७२ सालको भूकम्पपछि काठमाडौंमा ज्यामी काम गर्दागर्दै उनीहरूले विवाह गरेका थिए। उनीहरूबीच झगडा भएको त्यो पहिलो दिन थिएन।

उनीहरूले सात वर्षअघि प्रेम विवाह गरेका थिए। बिहेको ६ महिनामात्रै उनीहरूको सम्बन्ध राम्रो भयो। त्यसपछि सधैंजसो झगडामात्र। त्यसदिन पनि उनीहरूबीच झगडा भयो। रूपाले दुई थप्पड हिर्काएपछि घ्याल्मो घरबाट निस्किए। उनको पछि-पछि रूपा पनि निस्किइन्।

रिसमा हिँडेका घ्याल्मो एउटा माइक्रो भ्यानमा चढेर फुल्चोकीतिर लागे। उनलाई पछ्याउँदै रूपा पनि गोदावरीको अन्तिम स्टपसम्म पुगिन्।त्यहाँबाट हिँडेर उनीहरू फुल्चोकीको जंगलतर्फ लागे। फुल्चोकीको एक ठाउँमा पुगेर फेरि झगडा गर्न थालेका थिए।

झगडा गर्दागर्दै रूपाले भनिन्, ‘कि मर कि मलाई मारिदे।’ डाँडाको थाप्लोमा फूल्चोकीमाई छिन् भने नजिकै बौद्ध चैत्य। त्यहाँ डोरीमा थुप्रै ध्वजापता झुन्ड्याइको थियो। झोंक चलेपछि घ्याल्मोले त्यही डोरीले घाँटी कसेर रूपाको ह त्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए।

ह त्या गरेपछि घ्याल्मो त्यहाँबाट फर्किए। त्यसदिन यता उनले सामान्य रूपमा आफ्नो दिन बिताउन थालेका थिए। तर आइतबार दिउँसो आएको एउटा सूचनाले उनलाई प्रहरीको हिरासतसम्म पुर्‍यायो।

करिब साढे १२ बजेतिर नेपाल प्रहरीलाई फुल्चोकी डाँडामा एक जनाको शव भेटिएको खबर आयो। च्याउ टिप्न गएकी एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

घटना शंकास्पद छ भन्ने खबरपछि परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीको नेतृत्वमा टोली परिचालन भयो। घटनाबारे एसएसपी पोखरेलसम्म रिपोर्टिङ भइसकेको थियो।

शव पूरै सडिसकेको अवस्थामा थियो। अनुहार हेरेर पहिचान हुनसक्ने आधार नै नभएको एसएसपी पोखरेलले बताए। उनका अनुसार चिसो स्थानमा भएको हुँदा शव सबै नगलेको हो। सामान्य तापक्रममा भने शव १२ घण्टापछि गल्न सुरू हुने उनले बताए।

घटनास्थलबाट प्रहरीले एउटा ब्याग र मोबाइल फोन भेटायो। फोनमा पनि सिमको आधा टुक्रामात्रै भेटिएको थियो। ब्यागमा पनि पहिचान खुल्ने कुनै कागजात भेटिएन।

घटनास्थल पुगेको डिएसपीको टोली पनि उनको ह त्या नै भएको हो भन्ने पूर्ण रूपमा विश्वस्त भइसकेको थियो। टोलीले फोरेन्सिक चिकित्सकलाई पनि सँगै लगेको थियो।

‘घाँटीमा डोरी भएको कारण उनको ह त्या नै हो भन्ने थाहा पाउन सक्यौं,’ एसएसपी पोखरेलले भने, ‘आत्म ह त्या गरेको भए कतै झुन्डिएको अवस्थामा हुनुपर्ने थियो। तर त्यस्तो थिएन।’

शव भुइँ घोप्टो परेको अवस्थामा फेला परेको थियो। यस घटनामा शवको पहिचान गर्नु नै प्रहरीको मुख्य चुनौती बनेको थियो। पहिचान खुलाउन प्रहरीले विभिन्न मानिससँग सोधपुछ समेत गरेको थियो। प्रहरीले यसमा विभिन्न पाटोबाट अनुसन्धान गरी उनको पहिचान खुलाएको एसएसपी पोखरेलले बताए।

‘अनुहारको भाग गलेर खप्परमात्रै बाँकी थियो। जसले गर्दा मान्छे को हो भन्ने दुविधा थियो। प्राविधिक रूपमा अनुसन्धान थाल्यौं,’ उनले भने, ‘कुनै आधार नभेटेको भए, पहिचान नखुलेको भए हामीलाई अनुसन्धान गर्न गाह्रो हुन्थ्यो। धेरै समय लाग्थ्यो।’

उनको पहिचान खुल्नेबित्तिकै उनका श्रीमान घ्याल्मो शंकाको घेरामा तानिए। खोज्दै जाँदा प्रहरीले उनलाई सोमबार ललितपुरको युएनपार्कमा फेला पारी पक्राउ गरेको हो।

उनले ह त्या गरेको पनि स्वीकारिसकेको एसएसपी पोखरेलले बताए। ह त्या गर्ने मनसाय नभए पनि त्यो दिन आवेगमा आएर ह त्या गरेको प्रहरीसँग उनले भनेका छन्।

‘मैले मार्छु नै भन्ने सोचेको त थिइनँ। तर त्यहाँको अवस्थाले ह त्या गर्न पुगेँ,’ घ्याल्मोको भनाइ उदृत गर्दै पोखरेलले भने। अहिलेसम्म उनको मात्रै संलग्नता देखिएको बुझिएको छ। यद्यपि अनुसन्धानबाट थप कुरा खुल्न सक्ने प्रहरीको भनाइ छ।

पक्राउ गरेपछि प्रहरीले सोमबार परिसरमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो। शवको पोष्टमर्टम गर्न ललितपुरको पाटन अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal