काठमाडौँ । डा.गोविन्द केसी अनसन बस्न काठमाडौँबाट हिडेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन् ।
आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन् । ‘धनगढीमा कहाँ बस्ने भन्ने अहिले नै फिक्स भइसकेको छैन्’ सुवेदीले भने ।
केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए । उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए ।
तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने उनकाे माग छ ।
त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग उनले अघि सारेका छन् ।