आज :

पुटिनविरुद्ध लागेकै कारण प्रधानमन्त्री पद गुमाएका जोनसन जागिर खोज्दै

  • अनलाइन डबली

काठमाडौँ । बेलायतका पूर्वप्रधानमन्त्री बोसिर जोनसन जागिर खोज्न थालेका छन् । यसअघि समाल्दै आएको पेशामा फर्किने कि अन्य पेशा अंगाल्ने भन्नेमा जोनसनले निर्णय लिइनसकेको बेलायती संचारमाध्यमहरुले बताएका छन् । जोनसनलाई रोजगारी खोजिदिने स्थानीय सेवा कार्यालयहरुले बताएका छन् । बेलायतको सत्तरूढ कन्जर्भेटिभ पार्टीलाई ३० वर्षयताकै सबैभन्दा ठूलो चुनावी जित दिलाएको तीन वर्षपछि बोरिस जोनसनले प्रधानमन्त्री पद त्याग्न बाध्य भएका थिए । उनले रुसले युक्रेनमा गरेको सैन्य कारवाहीविरुद्ध चालेका कदमले विवादमा तानेको हो । उनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका  कटु अालाेचक पनि हुन् । युक्रेन घटनालाइ लिएर जाेनसन पुटिनविरूद्द खुलेर लागेका थिए ।

जोनसन दुई पटक युक्रेन पुगेर रुसविरुद्ध लड्न अस्त्र र पैसा सहयोग पठाउँदै आएका थिए । जोनसनको कदमबाट आक्रोसित बनेको रुसले बेलायतमा इन्धन, अन्नलगायतका बस्तु नपठाएपछि महंगी बढेसँगै विरोध हुन सुरु भएको थियो । विवाद बढ्दै गएपछि जोनसनकै विश्वास पात्र मानिएका स्वास्थ्य मन्त्रीले राजिनामा दिएसँगै उनी संकटमा परेका थिए । पार्टीभित्रै उनको चौतर्फी विरोध भएको थियो भने सर्वसाधारणले भोग्नु परेको अभाव र करको भारीको विरोध भएको थियो । युक्रेनमा भएको खर्च उठाउन जोनसनले केही सेवा र बस्तुमा कर बढाएका थिए । त्यस्तै, रुसले युरोपमा निर्यात कटौती गरेसँगै जोनसन दवाव पर्दै गएका थिए ।

जोनसनले राजनीतिमा प्रवेश गर्नुअघि उनी धेरै पारिश्रमिक लिनेगरी पत्रकारितामा थिए । उनले वेस्टमिन्स्टरको उच्च पदमा रहँदा समेत पत्रिका र म्यागजीनहरूको लागि लेखिरहेका थिए । प्रधानमन्त्री बन्नुभन्दा केही दिनअघि मात्रै जोनसनले नियमित लेख्न छोडेको बीबीसीले बताएको छ । डेली टेलिग्राफको लागि साप्ताहिक स्तम्भ लेख्नको लागि उनलाई प्रतिवर्ष २,७५,००० पाउन्ड दिइएको थियो र यी पूर्वप्रधानमन्त्रीको सेवा आफ्नो पक्षमा सुरक्षित गर्नका निम्ति सञ्चारमाध्यमहरूबीच एक किसिमको प्रतिस्पर्धा नै चल्न सक्छ । उनी आफ्नै संस्मरणहरू लेख्ने प्रस्तावबाट पनि लोभिन सक्छन् जुन भूतपूर्व प्रधानमन्त्रीहरूको निश्चित कमाइको उपाय हो । साहित्यिक एजेन्टहरूले उनी सत्तामा रहँदाको समयको बारेमा लेखिने किताबाका निम्ति १० लाख पाउन्डभन्दा बढी पाउन सक्ने बताइएको छ ।

जोनसनले यसअघि नै पत्रिकामा प्रकाशित लेखहरूको सङ्ग्रहसहित आठवटा पुस्तक लेखिसकेका छन् । तीमध्ये उनका आदर्श विन्स्टन चर्चिलको जीवनी र राजनीतिक व्यङ्ग्य सेभेन्टी–टू भर्जिन्स सर्वाधिक विक्री भएका पुस्तक हुन् । यद्यपि टेन डाउनिङ् स्ट्रिटबाट निस्किएपछिको जोनसनले विलियम शेक्सपियरको जीवनी सम्पन्न गरेका थिए । उनले विगत सात वर्ष अघिदेखि उक्त पुस्तक लेख्दै आएका छन्। प्रकाशक होडर एन्ड स्टोटनले सन् २०१५ मा ‘शेक्सपियरः द रिडल अफ जीनिअस’ को अधिकार पाँच लाख पाउन्डमा खरिद गरिसकेको भनिएको छ ।

उक्त पुस्तक सन् २०१६ मा सार्वजनिक हुने भनिएको थियो। तर ब्रेक्जिट भोट, विदेशमन्त्रीको पद अनि त्यसपछि प्रधानमन्त्री बनेका जोनसनको लेखन तालिका प्रभावित भयो । धेरै वर्षदेखि बोरिस जोनसनका भाषणहरू कन्जर्भेटिभ पार्टी सम्मेलनहरूमा मुख्य आकर्षणको रूपमा रहँदै आएका थिए । बेलायतमा पूर्वप्रधानमन्त्रीहरूले सार्वजनिक भाषणबाट पनि राम्रो कमाइ गर्ने गर्छन । जोनसनकी पूर्ववर्ती टरिजा मेले सन् २०२२ मा मात्रै नौवटा भाषण दिएर ७,१५,००० पाउन्ड कमाएकी बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ । जोनसनको हास्यव्यङ्ग्य पनि गर्छन् । उनी त्यो पेशामा पनि फर्किन सक्ने बताइएको छ । यसअघि जोनसनलाई रात्रिभोजहरूमा हास्यव्यांग्य गराइन्थ्यो र त्यसको पारिश्रमिक दिइन्थ्यो ।

सन् २०१९ को मार्च महिनामा सरकारी जिम्मेवारीहरू फेरिँदा उनलाई एउटा ब्याङ्क र एक भारतीय सञ्चार समूहलाई गरी दुईवटा मन्तव्य दिनका लागि १,६०,००० पाउन्डभन्दा बढी रकम दिइएको थियो । लामो समयदेखि जोनसनका सल्लाहकार रहेका लर्ड उड्नी–लिस्टरले लेख्ने र बोल्ने काम गर्ने दाबी गर्छन । जोनसन मेयर र प्रधानमन्त्री हुँदा उनको प्रमुख सहयोगी रहेका उड्नी–लिस्टरका अनुसार भने, ‘जोनसन आफ्नो हृदयको नजिकका विषयमा बोल्नेछन् ।”

त्यसैगरी जोनसनले फेरि पनि युक्रेनको पक्षमा वकालत गरेर रुसविरुद्ध विश्व जनमत तयार पार्ने काममा लाग्न सक्ने अनुमान पनि गरिएको छ । जोनसन सांसदको रूपमा रहेर रुसविरुद्ध उभिन्छन् वा बाहिरबाटै भन्नेबारे पनि अहिले केही भनाई सार्वजनिक भएका छैनन् । जोनसनलाई नयाँ प्रधानमन्त्रीबाट मन्त्रिपरिषद्मा स्थानका निम्ति प्रस्ताव आउने सम्भावना कम देखिन्छ । त्यसैले उनी विगतमा पनि राजनीतिमा गतिरोध आएको बेलामा जस्तै संसद्मा पछाडिको स्थानमा बस्न जान पनि सक्छन् ।

बेलायती मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिताअनुसार उनले पदत्याग गरेपछि दुई वर्षसम्म सरकारमा प्रत्यक्ष लबिङ गर्न पाउनेछैनन् । त्यसैले पनि जोनसन संसद्बाट चाँडै ननिस्कन पनि सक्छन् । तर, संसद्मा पछाडिको स्थानमा बसेर आलोचनात्मक अभिव्यक्ति दिएर मात्रै पनि जोनसन संसदमा नबस्न सक्ने विश्लेषण पनि गरिएको छ । यदि सांसदहरूको एउटा समितिले डाउनिङ स्ट्रीटमा लकडाउनको समयमा भोज आयोजनाबारे जोनसनले झूटो बोलेको पुष्टि ग¥यो भने उनी संसद्बाट निलम्बित हुन सक्ने बताइएको छ । परिणामस्वरूप कन्जर्भेटिभ पार्टीले तीव्र आलोचना भोगेको खण्डमा मतदाताको मत परिवर्तन हुँदा ७,१०० मतको अग्रतामा जित हासिल भएको उनको अक्सब्रिज एन्ड साउथ राइस्लिप निर्वाचन क्षेत्रबाट आगामी चुनावमा उनले आफ्नो सीट गुमाउन पनि सक्छन् ।

प्रधानमन्त्रीको रूपमा संसद्मा आफ्नो अन्तिम सम्बोधनका क्रममा जोनसनले अहिलेको लागि उद्देश्यहरू धेरै हदसम्म पूरा भएको घोषणा गरेका थिए । यदि उनको उत्तराधिकारीले अर्को निर्वाचन हारिन् भने के उनी वास्तवमै विपक्षी नेताको रूपमा फर्किने सम्भावना रहन्छ कि भन्ने प्रश्न पनि खडा भएको छ ? कन्जर्भेटिभ पार्टीको इतिहास लेखेका प्राध्यापक बेलले उनको पुनरागमन हुन सक्ने सम्भावना नकारेनन्। तर त्यसको लागि उनको पार्टी “निकै निराश परिस्थितिबाट गुज्रिएको” हुनुपर्ने उनको तर्क छ ।

महारानीसमक्ष औपचारिक रूपमा राजीनामा दिन बाल्मोरल जानुअघि बोरिस जोनसनले टेन डाउनिङ स्ट्रीटमा बिदाइ भाषण गरेका थिए । महारानीसमक्ष औपचारिक रूपमा राजीनामा दिन बाल्मोरल जानुअघि बोरिस जोनसनले टेन डाउनिङ स्ट्रीटमा बिदाइ भाषण गरेका थिए ।
बेलायत सरकारले पूर्वप्रधानमन्त्रीहरूलाई वार्षिक १,१५,००० ब्रिटिश पाउन्ड कार्यालय र सचिवालयअन्तर्गतका शीर्षकहरूमा खर्च गर्न दिइन्छ । जोनसनले लामो समयदेखि राजनीतिका नियमहरूको विरोध गर्दै आएका छन् । उनले आफ्ना पूर्ववर्तीहरूकै पथ अनुसरण गर्छन् भन्ने विश्वास गर्न कठिन छ । निकट व्यक्तिहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जोनसन रोजगारीको खोजीमा रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal