आज :

‘म मानसिक सन्तुलन गुमाउनुभन्दा पहिला नै नेपाल फर्किन चाहन्छु’

  • अनलाइन डबली

काठमाडौँ । झापा, बिर्तामोड नगरपालिका–२ का चन्द्रकुमार श्रेष्ठ सन् २०१६ मा मलेसिया गए । सेक्युरिटी गार्डको रुपमा उनी नेपालबाट ट्रष्ट नेपाल ओभरसिजमार्फत गएका थिए । मलेसियाको के–फोर्स सेक्युरिटी सर्भिसेसमा काम गर्दै आएका उनलाई कम्पनीले अहिले घर फर्किन दिएको छैन ।

उनको भिसा अवधि ३ वर्षको थियो । त्यसपछि दुई वर्ष थप गरेर ५ वर्ष बनाइयो । पाँच वर्ष पुगेपछि घर फर्किन दिने भनेको तर, अहिलेसम्म पनि नपठाएपछि उनले मलेसियामा रहेको नेपाली दूतावासमा सम्पर्क गरे । तर, दूतावासले पनि भिसा सकिएरमात्र घर जाऊ भनिदियो ।

यतिबेला उनी शारीरिकसँग सँगै मानसिक रोगको सिकार भइरहेका छन् । घर फर्किन नपाएपछि उनले नेपालस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसमक्ष गुनासो पोखेका छन् ।

‘श्रमिकसँग मन्त्री कार्यक्रम’मार्फत उनले फोन गर्दै आफुलाई उद्धार गरिदिन अनुरोध गरेका हुन् । ‘सेक्युरिटी कम्पनीमा काम गर्न थालेको ६ वर्ष हुन लाग्यो सर । ५ वर्ष पूरा भएपछि घर पठाउँछु भन्यो । त्यसपछि भिसा थप्न लगायो,’ उनले मन्त्रीसँगको टेलिफोन सम्पर्कमा भने, ‘भिसा थपेपछि घर जान दिँदैन । म बिरामी छु, घर जान्छु भन्दा उल्टै तलाई केही भएको छैन, किन जानुप¥यो घर भनेर हप्काउने गरेको छ ।’

उनले आफू शारीरिकसँगसँगै मानसिक रुपमा पनि बिरामी भइरहेको बताए । ‘म मानसिक रुपमा पनि बिरामी छु । निद्रा नलाग्ने, खाना रुच्दैन । साह्रै गाह्रो परेको छ । मलाई जसरी भए पनि घर फकाईदिनुप¥यो सर,’ उनले विनय गर्दै मन्त्री कुँवरसँग भने ।

आफू काम गर्न सक्ने अवस्थामा नरहेको उनले बताए । घर जाँदा लाग्ने जति पनि खर्च आफू नै व्यहोर्नेसमेत उनले बताए । ‘म काम गर्न पनि सक्दिनँ, कमजोर हुँदैछु, बरु लागेको पैसा तिर्छुभन्दा पनि जान दिएको छैन,’ उनले भने ।

दूतावासबाट पनि केही सहयोग नमिलेपछि मन्त्रीलाई नै फोन गरेको उनको भनाई छ । ‘केही सहयोग हुन्छ कि भनेर फोन गरेको सर,’ मन्त्री कुँवरलाई उनले भने, ‘सक्नुहुन्छ भने मलाई जतिसक्दो चाँडो घर पठाईदिनुहोस् सर । म आफ्नो मानसिक सन्तुलन नगुमाईकन घर आउन चाहन्छु ।’

जवाफमा मन्त्री कुँवरले चाँडै नै उद्धार हुने र त्यतिञ्जेलसम्मका लागि धैर्य गर्न आग्रह गरे । ‘ठिक छ भाइ, चिन्ता नगर्नुहोस्, मलेसियाका अधिकारीहरुलाई सम्पर्क गरेर आजै भन्छौं । धैर्य गर्नुहोस्, तपाईको उद्धार हुन्छ,’ मन्त्री कुँवरले भने ।

त्यस्तै सप्तरीबाट फोन गर्दै विष्णदेवु साहले साउदीमा दुर्घटनामा परी मृत्यु भएका सुरेन्द्र प्रसाद साहको शव नेपाल ल्याईदिन अनुरोध गरे । गत वैशाख २ गते सवारी दुघर्टनामा परी सुरेन्द्रको मृत्यु भएको थियो । तर, उनको शव अहिलेसम्म नेपाल आउन सकेको छैन ।

उनको शव नेपाल ल्याउन आवश्यक पहल गर्न मन्त्री कुँवरले सम्बन्धित निकायलाई तत्कालै निर्देशनसमेत दिए । मन्त्री कुँवरले दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव नेपाल ल्याउन समय लाग्ने बताए । ‘सवारी दुर्घटनामा परेकाहरुको हकमा मुद्दा परेको हुन्छ । त्यो अदालतबाट आदेश नआउँदासम्म शव नेपाल ल्याउन सकिने अवस्था हुँदैन । त्यस्तो शव ल्याउन केही समय लाग्छ,’ उनले भने ।

त्यस्तै झापाबाट विक्रम थापाले फोन गर्दै एजेण्टले ठगेको गुनासो गरे । उनले गत जेठमा झापाको दकममा रहेको एक मेनपावर मार्फत माल्दिभ्सका लागि एप्लाई गरेका थिए । उनलाई जेठभित्रै उडाउने कुरा थियो । तर, भदौ लागिसक्दा पनि उनी उड्न पाएका छैनन् । त्यो बीचमा उनलाई कहिले प्लेनको टिकट काटेको फोटो देखाइयो भने, कहिले भिसाको फोटो देखाइयो । तर, मेनपावर व्यवसायी अहिले सम्पर्क विहीन छन् । उनले आफ्नो समस्या मन्त्री कुँवरसमक्ष राखेका थिए ।

मन्त्री कुँवरले जवाफमा सबैभन्दा पहिला वैदेशिक रोजगारीमा जानको लागि त्यो देशसँग श्रम सम्झौता भएको छ कि छैन भनेर हेर्नुपर्ने बताए । त्यो देशको विषयमा जानकारी लिएर नै प्रोसेस अगाडि बढाउनुपर्ने उनले बताए । कुनै व्यक्तिले त्यो देश पठाइदिन्छु भनेर भिसा पनि दिएन र काममा पनि पठाएन भने त्यो बेला आफू ठगिएको भनेर बुझ्नुपर्ने उनले बताए ।

श्रम स्वीकृति लिएको हो भने वैदेशिक रोजगार विभागमा उजुरी दिन सकिने र त्यस्तो नभएको खण्डमा प्रहरीमा उजुरी दिन सकिने उनले बताए । साउन २१ गतेभित्र उडाउन सकिएन भने व्याजसहित पैसा फिर्ता गर्छु भनेर लिखित सहमतिसमेत गरेको तर साक्षी बस्ने दुवै जना सम्पर्क विहीन भएको उनको गुनासो थियो ।

यस्तै, मलेसियाबाट एक जनाले आफूसहित सात जना घर फर्कन नपाएको गुनासो गरे । कम्पनीले ‘आज पठाउँछु, भोलि पठाउँछु’ भन्दै टार्दै आएको उनले बताए ।

उनले भने, ‘हामीले दूतावाससँग पनि सम्पर्क गरेका थियौं । दूतावासले पनि काम गर, घर किन जानुप¥यो भन्दै आएको छ । ८ वर्ष भयो । घर जान्छुभन्दा घर जान दिएको छैन ।’ उनको गुनासोमा मन्त्री कुँवरले सम्बन्धित निकायमा बुझेर समस्याको समाधान गर्न मन्त्रालयका अधिकारीहरुलाई तत्काल निर्देशन दिए ।

मन्त्री कुँवरलाई कोरियन भाषा (इपीएस) पास गरेर जान नपाएकाहरुले समेत गुनासो गरे । झापाको दमकबाट घनश्याम श्रेष्ठले फोन गर्दै सन् २०१८ मा ईपीएस पास गरेर कोरिया जाने प्रतीक्षामा बसिरहेका बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal