
काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउँदैछन् । पाण्डे पाँच दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौं आइपुग्दैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।
सैनिक स्रोतका अनुसार नेपाल भ्रमणको क्रममा पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापतिलगायतका उच्च अधिकारीसँग भेट वार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
केही साना राजनीतिक पार्टी र सामाजिक अभियान्ताहरुले पाण्डेको भ्रमणको विरोध जनाएका छन् । पाण्डेलाई कालो झण्डा देखाउन सक्ने भन्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्यसैगरी नेपालमा चिनियाँ जनकंग्रेसका अध्यक्ष पनि नेपाल भ्रमणको लागि आउँदैछन् । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आगामी २७ देखि ३० भदौमा नेपालको भ्रमण गर्ने बताइएको छ ।
सभामुख अग्नी सापकोटाको निमन्त्रणमा चान्सु नेपाल आउन लागेका हुन् । उनि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका उच्च अधिकारी हुन् । परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयले चान्सुको भ्रमणबारे तीव्र तयारी गरिरहेको छ ।
गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए ।