
काठमाडौँ । नेकपा एकीकृतकी सांसद सांसद दिलकुमारीले रौतहट जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएर हाल सांसद पद गएका प्रभु साहले आइटी आर्मीका नाममा एलटी आर्मी खोलेर जनतालाई थर्काउने गरेको गुनासो गरेकी छन् ।
प्रतिनिधिसभामा छलफलका लागि पेश भएको मिडिया काउन्सिल विधेयकमाथि छलफलमा भाग लिँदै दिलकुमारीले मिडिया काउन्सिल विधेयक ठुला र साना सबैलाई समान न्याय दिनेगरी आउनुपर्ने बताइन् ।
‘मधेस प्रदेश रौतहट निर्वाचन क्षेत्र ३ का सांसद युवा र विकास प्रेमी भनेर धेरै चर्चामा आएको छ । तर विकास प्रेमी होइन उ भ्रष्टाचारप्रेमी हो’, उनले भनिन् ‘महाडनप्रेमी हो ।’
सांसद दिलकुमारीले माधव नेपाल र रामकुमारी झाक्रीलाई एकसय योजना हटाएकोमा धन्यवाद दिँदै यसले पूर्व शहरी विकास मन्त्रीलाई भने दुःख लागेको बताइन् ।
‘उहाँले पद र स्वार्थका लागि आइटी आर्मी खोल्नुभएको छ । आइटी आर्मी होइन, एलटी आर्मी हो, लुटेरा आर्मी । त्यो थर्काउनका लागि खोलिएको हो’, उनले नाम उच्चारण नगरी प्रभु साह धेरै ठुलो भ्रष्टाचारी रहेको पनि बताइन् । ‘उ भन्दा भ्रष्टाचारी कोही छैन’, उनको भनाइ छ ।