आज :

दलहरुले महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउनुपर्छ : पूर्वसभामुख घर्ती

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन् ।

हरेक पार्टीमा प्रत्यक्ष निर्वाचन लड्ने क्षमताका महिला नेताहरु रहेको भन्दै उनले टिकट वितरणमा ध्यान दिन राजनीतिक नेतृत्वलाई आग्रह गरिन् । नेताहरुमा महिलाहरु समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले घर गरेको र स्वयं महिलाहरु समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।

माओवादी जनयुद्धका कारण नेपाली महिलाहरूमा जागरण आएको तथा सिंगो समाज महिलामैत्री बन्दै गएको उल्लेख गरिन् । पुरुषहरूलाई पृतृसत्तावादी भनेर गाली गर्ने महिलाहरु आफैं त्यो मनोदशाबाट ग्रस्त भएको उनको टिप्पणी थियो । घर्तीले आफूभित्रको पृत्तसत्तावाद जबर्जस्त निकालेर फाल्न सक्नुपर्नेमा जोड दिइन् ।

महिलालाई अगाडि बढाउने विषयमा विगतको तुलनामा धेरै परिवर्तन आएको र पुरुष नेतृत्वले समन्वय गर्ने गरेको उनले बताइन् । ‘राजनीतिक पार्टीहरूमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ’, पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले राजधानीमा गरेको कार्यक्रममा घर्तीले भनिन्, ‘महिलाहरु समानुपातिकमा मात्र लालायित हुँदा र प्रत्यक्ष निर्वाचन लड्न तयार नहुँदा पुरुष नेताहरुमा महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’

महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पुरा गर्न सक्छन् भन्ने प्रमाणित भएको भन्दै उनले त्यसको उदाहरण आफैं भएको चर्चा गरिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि ठूलो विश्वास र भरोसा गरेर सभामुखको जिम्मेवारी दिएको स्मरण घर्तीले गरिन् । सभामुखको जिम्मेवारी पाउँदा धेरैले आफूले सम्हाल्न नसक्ने भन्दै खिसीट्युरी गरेको उनले सुनाइन् ।

‘६ महिना त म रातमा २ घण्टा मात्र सुतेँ । कहिलेकाहीं त त्यो पनि भएन’, उनले भनिन्, ‘भोलिपल्ट बस्ने संसदमा जुन विषयमा छलफल छ त्यसबारे धेरै अध्ययन गरेर जान्थेँ । मैले संविधानका प्रत्येक हरफ हातले डायरीमा कोरेर पढेको छु । संसद सचिवालयमा धुलोले पुरिएका किताब धुलो टक्टक्याएर पढेर बैठकमा जाने गरेको थिएँ ।’

आफू असफल हुँदा महिलाहरु शासन प्रशासन चलाउन सक्दैनन् भन्ने सन्देश प्रवाह हुने र आफूलाई नजिरका रुपमा देखाएर भविष्यमा अरु महिलालाई अवसरबाट रोक्न सक्नेतर्फ सधैं सचेत भएर काम गरेको अनुभव उनले सुनाइन् । आफूलाई सफल बनाउन सञ्चारमाध्यमले खेलेको सकारात्मक भूमिका कहिल्यै बिर्सन नसक्ने पनि उल्लेख गरिन् ।

घर्तीले महिलालाई अवसर र सम्मान दिने कुरामा माओवादी नेतृत्व अरु दलको तुलनामा धेरै प्रगतिशील रहेको दाबी गरिन् । ‘महिलालाई अवसर दिने र सम्मान गर्ने संस्कार अरु पार्टीको तुलनामा माओवादीमा धेरै राम्रो छ’, उनले भनिन् ।

आफूहरुको आन्दोलनले नै आजका छोरीहरुलाई अधिकारप्रति सचेत गराएको र आफ्नै खुट्टामा उभिन सक्ने बनाएको दाबी घर्तीले गरिन् । महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताइन् । महिलाले आफूलाई राजनीतिमा स्थापित गराउन मनोबल उच्च राख्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal