आज :

अलिकति बिग्रेका छौं तर माओवादी केन्द्र फेरि क्रान्तिकारी पार्टी बन्ने सम्भावना छः प्रचण्ड

  • अनलाइन डबली

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आफूहरु विगतभन्दा केही बिग्रेको भएपनि फेरि क्रान्तिकारी पार्टी बन्ने सम्भावना रहेको बताएका छन् । उनले नेताहरू व्यक्तिवादी र आत्मकेन्द्रित बन्न थालेको समेत बताए ।

विहीबार रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेताहरूको भनाइ र गराइमा ठूलो अन्तर आएको भने, ‘हामी अलिकति बिग्रेका छौँ । हामी हिजो जस्तो छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ, स्वार्थी भएका छौँ ।’ क्रान्ति, समाज र राष्ट्रका निम्ति त्याग गर्नेतिर भन्दा पनि नेताहरू आफ्नै निम्ति कसरी गर्ने भनेर उद्धत हुन थालेको उनको भनाइ थियो ।’

नेताहरुमा सामूहिक भावना र टिम स्प्रीटबाट जानेभन्दा पनि स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेको समेत प्रचण्डले बताए । पार्टीको वर्ग चरित्र र क्रान्तिकारी स्प्रीटमा नराम्रो स्खलन आएको बताउँदै प्रचण्डले अब पनि यही बाटोमा हिड्ने हाे भने क्रान्तिकारी हौं भन्ने औचित्य समाप्त हुने समेत चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले महाधिवेशन सम्पन्न गरेर फेरि क्रान्तिकारी पार्टी नै बनाउने संश्लेषण गरेको तर विचारमा, किताबमा, दस्तावेजमा र मुखमा क्रान्तिकारी नै भएपनि व्यवहार र आचरण दैनिकी त्योसँग नमिलेको बताए । उनले आफूहरुको भनाइ र गराइमा ठूलो अन्तर आइसकेको महसुस भएको बताउँदै समस्या समाधान गर्नेतिर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रचण्डले देखिएका समस्याका बाबजुद पनि नेकपा माओवादी केन्द्र नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी भएको दाबी गर्दै भने ‘फेरि पनि देशमा भएका पार्टीहरू मध्ये हाम्रो पार्टीमात्र हो विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकतामा राखेर सामाजिक र सांस्कृतिक रूपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर समाजवादको यात्रा गर्नुपर्छ इमानदारिता साथ भन्ने । विचलन हुँदा हुँदै पनि यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी हो ।’

लेनिन र माओले क्रान्ति गर्दाको जस्तो आजको अवस्था नभएको बताउँदै प्रचण्डले वर्ग संघर्षको अवस्थामा र पुँजीवादको विकासको चरणमा धेरै फरक आएकाले मार्क्‍सवादलाई विकसित गरेर आजको आवश्यकता अनुसार परिमार्जन गर्न चुनौती रहेको बताए । यो सजिलै समाधान नहुने बताउँदै विचारको विकास नगरी अबको दुनियाँमा समाजवादी क्रान्तिलाई अघि बढाउन नसकिने प्रचण्डको भनाई छ ।

नेपालमा कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुवीकृत गर्ने प्रयास भइरहेको बताउँदै भने, ‘सच्चा वामपन्थीबीच एकता होस् भनेर हामीले प्रयास गरिरहेका छौँ । केही दिन यता सकारात्मक समाचारहरू आइरहेका छन् । चाहे त्यो साथीहरूले हँसिया हथौडामा चुनाव लड्ने निर्णय होस् या एकीकृत समाजवादी पार्टीले पार्टी एकता संयोजन समिति बनाएर ध्रुवीकृत गर्ने कुरा होस् । समाजवादी क्रान्तिलाई अघि बढाउन हाम्रो जोड छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal