
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पनि बस्दैछ । प्रबक्ता कृष्णबहादुर महराका अनुसार आज पदाधिकारीको टुंगो लाग्नेछ । विहीबार बसेको बैठकले स्थायी समिति र पोलिट्ब्यूरोको अन्तिम टुंगो लगाइसकेको छ ।
यसअघि बसेको केन्द्रीय समिति बैठकमा स्थायी समिति र पोलिट्ब्यूरोमा रहने भन्ने अन्तिम टुंगो लागेको थिएन । स्थायी कमिटीमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश शाह, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेल, हितराज पाण्डे रहेका छन् ।
यस्तै डिलाराम आचार्य, महेश्वरराज जंग गहतराज, हकिकुल्लाह खाँ, श्रीराम ढकाल, जोख बहादुर महरा र प्रह्लाद बुढाथोकी, राम कार्की, हितमान शाक्य, कालीबहादुर मल्ल, खगराज भट्ट, परशुराम तामाङ, रामेश्वर राय यादव, गणेशमान पुन, नारायण दाहाल, विश्वनाथ साह र कुल प्रसाद केसी पनि स्थायी कमिटीमा रहेका छन् ।
त्यसैगरी माओवादीको स्थायी समितिमा पहिलो पटक ११ जना नेतृ समेटिएकी छन् । जसमा ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, अञ्जना विशंखे, यशोदा सुवेदी, अमृता थापा, कमला रोका, रेखा शर्मा, सीता पोखरेल र उर्मिला अर्याल रहेको खुमलटार स्रोतले जनाएको छ ।
प्रवक्ता महराले आज पदाधिकारीसहित स्थायी र पोलिट्ब्यूरोको अन्तिम नामावाली सार्वजनिक गरिने बताएका छन् । माओवादीले स्थायी कमिटी बैठकबाट ४३ जनाको तय भएको छ ।
पदाधिकारीमा मुख्यगरी महासचिवमा कुरा नमिलेको बताइएको छ । महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र प्रभाकरले दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले एकले पार्टी र अर्कोले सरकारको माेर्चा समाल्न भनेपनि त्यसमा दुबैको दाबी रहेको बताइएको छ ।
महासचिव भएर फिल्ड समाल्न पुनको स्वास्थ्य साथ नदिन सक्ने भन्दै प्रचण्डले पनि प्रभाकरलाई नै महासचिव बनाउन चाहेको स्रोतको दाबी छ । यसअघि अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा महराको नामबारे टुंगो लागिसकेको छ । त्यसैगरी उपमहासचिव शक्ति बस्नेत, गिरीराजमणी पोखरेल, हरिबोल गजुरेल, गणेश साहलगायतका नेताहरुले दाबी गरेका छन् ।