आज :

देउवाले एकाएक यस्तो कडा निर्णय गरेपछि नेपाली कांग्रेसभित्र भूकम्प

  • अनलाइन डबली

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ता गर्न दिएको समय घर्किनै लाग्दा मंगलबार अपरान्ह नेपाली कांग्रेसले दल दर्ता गरेको छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि गत साउन २२ देखि साउन ३१ (आज) गतेसम्म दल दर्ता गर्न आयोगले समय दिएको थियो।

दल दर्ताका लागि १० दिन समय भए पनि कांग्रेसले अन्तिम दिन दल दर्ता गर्‍यो। गत शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दल दर्ता गर्ने जिम्मेवारी दिएको थियो।

दल दर्ता गर्न जिम्मेवारी पाएको चार दिनमा पौडेल उपसभापति धनराज गुरूङसहित नेतासँगै दल दर्ता गर्न मंगलबार अपरान्ह आयोग पुगेका हुन्। आयोगले बिदाका दिन पनि दल दर्ता गर्ने भनेको थियो।

कांग्रेसले अन्तिम समयमा दल दर्ता गर्नुको कारण छ। किनकी सोमबारसम्म कांग्रेसको केन्द्रीय समिति समावेशी थिएन। केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुगेका थिएनन्। निर्वाचन आयोगले पहिले पार्टी समावेशी बनाउन अनि मात्रै दल दर्ता गर्ने अडान राखेको थियो।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले नै थप केन्द्रीय सदस्य मनोनीत गर्ने पक्षमा थिएनन्। उनले आयोगको दबाब थेग्न सकेनन्, मंगलबार १० जना महिला नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्। देउवाको यो निर्णयले कांग्रेसभित्र हलचल भएको छ ।

मनोनयन गर्दा देउवाले पार्टीभित्रका सबै पक्षलाई समेट्ने प्रयास गरेको देखिन्छ। उनले भ्रातृ संस्थाका अध्यक्ष एकलौटी तोकेकोमा नेता शेखर कोइराला समूहले विरोध गर्दै आएको थियो।

आज केन्द्रीय सदस्य मनोनीत गर्दा १० मध्ये २ जना कोइराला पक्षका छन्। महोत्तरीकी किरण यादव र मोरङकी रूक्मिणी कोइराला शेखर पक्षबाट केन्द्रीय सदस्य भएका हुन्। देउवाले कोइरालासँगको आइतबारो भेटमा केन्द्रीय सदस्यको नाम दिन भनेका थिए।

केन्द्रीय सदस्य थप गर्दा देउवाले आफूनिकट ५ जना मनोनीत गरेका छन्। सुनसरीकी लक्ष्मी खतिवडा, काठमाडौंकी राधा घले, झापाकी गोमा भट्टराई, रूपन्देहीकी गंगा शाही, नवलपुरकी सीता देवकोटालाई देउवाले केन्द्रीय सदस्य बनाएका हुन्।

देउवाले सोमबार स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने तथा सबैलाई समेटेर जाने प्रतिवद्धता जनाएका थिए।

सभापति देउवाले मंगलबार केन्द्रीय सदस्य मनोनीत गर्दा आफूलाई गत मंसिरमा भएको १४ औं महाधिवेशनमा सहयोग गरेका नेतानिकटलाई पनि समेटेका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट ललितपुरकी धना खतिवडा, पूर्वमहामन्त्री शशांक कोइरालानिकट धादिङकी उर्मिला थपलिया र प्रकाशमान सिंहनिकट काठमाडौंकी कल्याणी रिजाल केन्द्रीय सदस्य भएका छन्। १० केन्द्रीय सदस्य मनोनीत गर्दा देउवाले आफूलाई ५० प्रतिशत राखेर अरूलाई ५० प्रतिशत भाग दिएका हुन्।

महाधिवेशनमा शशांक केन्द्रीय सदस्य मात्रै उठेका थिए। उनको नाम देउवा र शेखरतर्फ दुबै प्यानलमा समावेश थियो। प्रकाशमान सभापतिमा उठे पनि दोस्रो चरणमा देउवालाई सघाएका थिए भने सिटौला देउवाको समर्थक बसेका थिए। उनीहरू तीनै जनालाई एक-एक केन्द्रीय सदस्य भाग दिएका छन्, देउवाले।

कांग्रेसको विधानअनुसार सभापतिमा पराजित व्यक्ति स्वत: केन्द्रीय सदस्य हुन्छ। शेखर स्वत: केन्द्रीय सदस्य भएका थिए। विधानअनुसार महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएर आएका थिए। सभापति देउवाले मनोनीत गर्न पाउने ३३ केन्द्रीय सदस्यमध्ये यसअघि १३ जना मनोनीत गरेका थिए, २० जना बाँकी थियो।

उनले मंगलबार १० जना केन्द्रीय सदस्य थप गरेका छन्, अझै १० जना मनोनीत गर्न बाँकी छ। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हुने विधानको व्यवस्था छ। अहिले कांग्रेस केन्द्रीय सदस्य १५८ सदस्यीय बनेको छ। १० जना महिला केन्द्रीय सदस्य थप गर्दा अब पार्टीमा ३३ प्रतिशत महिला पुगेका छन्।

कांग्रेसका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार पार्टी समावेशी नहुँदा निर्वाचन आयोगले महाधिवेशनपछि पार्टी अद्यावधिक गर्न मानेको थिएन। मंसिरमा महाधिवेशन भए पनि अहिलेसम्म केन्द्रीय समिति अद्यावधिक भएको थिएन।

सभापति देउवा अहिलेकै केन्द्रीय समितिलाई आयोगले अद्यावधिक गरिदियोस् भन्ने चाहन्थे तर आयोगले नमानेको ती पदाधिकारी बताउँछन्। १० जना महिला केन्द्रीय सदस्य मनोनीत भएसँगै कांग्रेसले आयोगमा दल दर्ता गरेको छ। कांग्रेसको दर्ता नम्बर ९६० छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal