काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको नेताहरुले बताएका छन् ।
आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको थियो । भोलि बस्ने बैठकमा यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा र नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
यसैबीच आज सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक भने बस्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।
बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।
गठबन्धनका दलहरूबीच आन्तरिक छलफलपछि आजको बैठकमा आ–आफ्ना अडान प्रस्तुत गर्ने तयारी छ । यसैबीच, आइतबार गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको थियो ।