आज :

प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संसद्‌मा फिर्ता गरिन नागरिकता विधेयक, अब के हुन्छ ?

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले झन्डै दुई सातादेखि विचाराधीन नागरिकता संशोधन विधेयक संसद्‌मै फिर्ता पठाइदिएकी छन्।

उनले संसद्‌का दुवै सदनबाट बहुमतले पारित उक्त विधेयकलाई प्रमाणीकरण नगरीकन फिर्ता पठाएकी हुन्। राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै त्यसबारे जानकारी दिएको छ।

संसद्‌बाट बहुमतले पारित भएको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित कतिपय राजनीतिक दल र नागरिक समूहहरूले उक्त विधेयक फिर्ता पठाउन माग गरेका थिए।

अर्कातर्फ लामो समयसम्म राष्ट्रपतिले निर्णय नगर्दा त्यसले उनको निष्पक्षतामा प्रश्न खडा गरेको सत्तारूढ दलका कतिपय नेताले बताएका थिए।

आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्ता गठबन्धनको एउटा दल जनता समाजवादी पार्टीकी एकजना सांसद् लीलादेवी सिटौलाले राष्ट्रपतिको निष्पक्षतामाथि प्रश्न उठाएकी थिइन्।

उनले “राष्ट्रपति राष्ट्रको हुन्छ कि पार्टीको हुन्छ?” भन्ने प्रश्न गरेकी थिइन्। राष्ट्रपति निर्वाचित हुनुअघि भण्डारी नेकपा एमालेकी सांसद थिइन्।

के छ संवैधानिक व्यवस्था

संविधानले राष्ट्रपतिलाई संसद्‌बाट पारित भएको कुनै पनि विधेयक एक पटक पुनर्विचारका लागि संसद्‌मै फिर्ता पठाउन सक्ने अधिकार दिएको छ। त्यस्तो निर्णय राष्ट्रपतिले विधेयक पारित भएर पठाइएको १५ दिनभित्र लिइसक्नुपर्ने व्यवस्था संविधानमा छ।

संविधानको धारा ११३ मा भनिएको छ, “प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनेछ।”

संविधानको धारा ११३ को उपधारा ४ मा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने तर सच्याउनैपर्ने बाध्यता नहुने व्यवस्था छ।

संसद्का दुवै सदनले जस्ताको तस्तै वा संशोधनसहित पारित गरी पुनः पठाएको विधेयक “पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने” संवैधानिक व्यवस्था छ।

प्रतिनिधिसभा नियमावलीले यसरी फिर्ता भएको विधेयकबारे संसद्का महासचिव र उनको अनुपस्थितिमा सचिवले संसद्लाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ। संसद् अधिवेशन सञ्चालन नभएको अवस्थामा सूचना टाँस गरेर यस्तो जानकारी दिनुपर्ने नियम छ।

संसद्ले पुनर्विचार गर्ला?
फिर्ता भएको विधेयक पुनः संसद् बैठकमा पेस गर्नुपर्ने र बैठकले संसद्‌मै छलफल गरेर टुङ्ग्याउने वा संसदीय समितिमा पठाउनुपर्ने नियमावलीमा व्यवस्था छ।

नागरिकतासम्बन्धी विधेयक फिर्ता भए समितिमा नगई सदनबाटै टुङ्ग्याउने सम्भावना रहेको सत्तारूढ गठबन्धनका नेताहरूले गत साता बीबीसीलाई बताएका थिए।

गठबन्धनमा रहेका दलहरूको बहुमत रहेका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट यो विधेयक जस्ताको त्यस्तै पारित गरेर पुनः राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाउने सम्भावना रहेको बताइन्छ।

यसरी फिर्ता आएको विधेयक दुवै सदनबाट पारित गरिसक्न बढीमा एक साता लाग्ने तर दलहरूबीचको सहमतिमा संसद्को प्रक्रिया निर्भर रहने जानकारहरू बताउँछन्।

नेपालमा नागरिकतासम्बन्धी कानुन संशोधन हुँदा सधैँ विवादित हुने गरेको छ। यसअघि सरकारले संसद्मा दर्ता गरेको विधेयक चार वर्षपछि गत महिना फिर्ता भएको थियो।

त्यसपछि वर्तमान सरकारले फेरि त्यसलाई सदनमा दर्ता गरायो। उक्त विधेयकलाई संसद्‌को विषयगत समितिमा छलफल नगरी अघि बढाइएको थियो।

पारित भएपछि गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर त्यसलाई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए। बीबीसी नेपाली ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal