
काठमाडौँ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो ।
सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको सपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसदले सो ऐन बनाएको हो ।
सो ऐन कार्यान्वयनमा आएपछि अब सपथ खानेले ईश्वरको नाममा वा देश र जनताको नाममा सपथ खान सक्ने विकल्प राखिएको छ । यसअघि खाने सपथमा ईश्वरको नाममा मात्र सपथ लिने व्यवस्था थियो । इश्वरको नाममा भन्न नचाहनेहरुले देश र जनताको नाममा भनेर सपथ खाने गर्दथे ।
साथै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग सपथ लिने बेला सपथमा रहेको ‘प्रतिज्ञा गर्दछु’ शब्द उच्चारण नगरी त्यो पर्दैन भनेका थिए । सपथ लिने बेला ओलीको सो व्यवहारको व्यापक आलोचना भएको थियो ।
संघीय संसदबाट पारित भएको विद्येयकको अनुसूचीमा राखिएको पद तथा गोपनीयताको ढाँचामा पनि प्रतिज्ञा गर्दै भन्ने शब्द राखिएको छ । सोही ढाँचा अनुसार सपथ खानुपर्ने विधेयकमा व्यवस्था रहेको छ । अर्थात् अब सपथ लिँदा ‘त्यो पर्दैन’ भन्न पाइने छैन !
यस्तै प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पनि पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।
पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।