आज :

चीन-ताइवान तनावबारे प्रचण्डको सचिवालयले मुखो खोल्यो, कसको पक्षमा छ माओवादी केन्द्र ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् ।

शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले नेपाल र माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका हुन् । उनले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

प्रचण्डको सचिवालयका तर्फबाट रमेश मल्लले लेखेका छन्, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ।’

चीनको चर्को विरोधका बाबजुद पनि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले दुई दिन अघि ताइवानको भ्रमण गरेकी थिइन्। यसैबीच चीनले अमेरिकी संसदकी सभामुख पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

आफ्नो निरन्तरको चेतावनीका बाबजुद् ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनको परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको छ।

ताइवान भ्रमण सकेर पेलोसी दक्षिण कोरिया हुँदै जापान पुगेकी छन्। त्यहाँ उनले ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले आफूले भ्रमण नगरेको बताइन्।

‘ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले मेरो भ्रमण भएको होइन। अमेरिका र ताइवानबीचको सौहार्द मित्रताप्रति चीन खुसी छैन,’ उनले भनेकी छन्। पेलोसीको भ्रमण लगत्तै चीनले ताइवान केन्द्रीत सैन्य अभ्यास जारी राखेको छ। चीनले पेलोसीको प्रतिनिधि मण्डलमा सहभागी भएका अन्य सांसदहरूलाई पनि प्रतिबन्ध लगाउने बताएको छ।

किन ताइवान गइन् पेलोसी ?
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी चढेको अमेरिकी वायु सेनाको जहाज मंगलबार साँझ मलेसियाको राजधानी क्वालालम्पुरबाट उड्यो।

उक्त जहाजको गन्तव्य तोकिएको थिएन तर त्यो ताइवानको राजधानी ताइपेई पुगेर अवतरण हुन्छ भन्ने धेरैले अपेक्षा गरेका थिए। उक्त जहाजबारे संसारभरिका मानिसहरूलाई यति धेरै चासो थियो कि जहाजहरूको उडान ट्र्याक गर्ने साइट फ्लाइटराडार२४ मा मानिसहरू ओइरिए।

मंगलबार राति उक्त जहाज ताइपेईमा ल्यान्ड गर्न लाग्दा त सात लाख ८ हजार मानिसले एकैपटक पछ्याएका थिए भने क्वालालम्पुरदेखि ताइपेईसम्म पुग्दा २९ लाख २० हजार मानिसले फ्लाइटराडारमा कुनै न कुनै ठाउँमा यो जहाजलाई पछ्याएको उक्त साइटले जनाएको छ।

संसारका अरू कुनै मुलुकमा जाँदा अमेरिकी सभामुखको भ्रमणले यति धेरै चासो पाउँदैन। उनको ताइवान भ्रमण भने पेलोसीसँग मात्र सम्बन्धित थिएन, संसारका दुई ठूला शक्ति राष्ट्र चीन र अमेरिकासँग जोडिएको थियो।

ताइवान नजान चिनियाँ अधिकारीहरूले कडा चेतावनी दिइरहेका बेला पेलोसीको जहाज ताइवान जाने भएपछि अब के होला भनेर संसारभरिका मानिसले चासो राखेका हुन्। उनको भ्रमणअघि ताइवान टापुको आसपासमा अमेरिका र चिनियाँ युद्धपोत जम्मा भएका थिए।

मंगलबार राति पेलोसी ताइपेई पुगिन्। बुधबार उनी त्यहाँको संसदमा गइन् र राष्ट्रपति साइ इङ-वेनसँग भेटिन्। आफ्नो भ्रमणबारे पेलोसीले भनेकी छन्- हाम्रो भ्रमण अमेरिकी संसदीय प्रतिनिधि मण्डलका धेरै भ्रमणमध्ये एउटा हो। र, यो ताइवान रिलेसन एक्ट १९७९ विरूद्धमा छैन।

उनले ताइवानका नागरिकलाई अहिले अमेरिकाको ऐक्यवद्धता निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै आफू ताइवानप्रतिको अमेरिका प्रतिवद्धतालाई दोहोर्‍याउन आएको बताएकी छन्।

चीनले भने पेलोसीको त्यो व्याख्यालाई स्वीकार गरेको छैन। उनको भ्रमणले चीनको सार्वभौमसत्तालाई मात्र होइन यो क्षेत्रकै स्थायित्वलाई चुनौती दिएको उसको भनाइ छ।

चिनियाँ विदेश मन्त्रालयले आफ्नो विरोध जनाउन बुधबार बेइजिङस्थित अमेरिका राजदूतलाई बोलाएको छ भने जनमुक्ति सेनाले भोलिदेखि ताइवानलाई घेरेर विभिन्न ६ ठाउँमा हवाई र जल सैन्य अभ्यास गर्ने बताएको छ। ताइवानबाट खाद्यान्न निर्यात गर्ने दर्जनौं कम्पनीहरूलाई चीनले प्रतिबन्ध लगाएको छ।

पेलोसी आजै ताइपेईबाट दक्षिण कोरियाको राजधानी सउल जाने कार्यक्रम छ। उनको ताइवान भ्रमणले तत्काल आमने-सामने भएका छैनन् तर यसको तरंग भने यी दुई देशको सम्बन्धमा लामो समयसम्म रहिरहने देखिन्छ।

पेलोसी पछिल्ला २५ वर्षमा ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुन्। सन् १९९७ को मार्चमा तत्कालिन अमेरिकी सभामुख न्युट गिन्ग्रिजले ताइवान भ्रमण गरेका थिए।

गिन्ग्रिजको भ्रमणका बेला चीन आर्थिक र सैनिक हिसाबले अहिलेजस्तो शक्तिशाली बनिसकेको थिएन। सन् १९४९ मा जनवादी गणतन्त्र बनेको चीनले तत्कालीन सरकार प्रमुख चियांग काइ-सेक गएर बसेको ताइवान टापुलाई आफ्नो अभिन्न अंग ठान्दछ र कुनै दिन मातृभूमिमा मिसाउने लक्ष्य राखेको छ।

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आएका र राष्ट्रपति बनेका सी चिनफिङले त ताइवानसँगको एकीकरणलाई आफ्नो पुनर्जागरण अभियानको अभिन्न हिस्सा मानेका छन्। शान्तीपूर्ण तरिकाले नभए सैन्य बलमार्फत् पनि ताइवानलाई चीनमा मिसाउने बेइजिङको भनाइ छ।

आर्थिक, सामरिक र सैनिक हिसाबलाई बलियो बन्दै गएको चीनलाई २ करोड ४० लाख मानिस बसोबास गर्ने ताइवानलाई एकीकरण गर्ने समय नजिकिँदै गएको भन्ने लाग्छ। त्यही भएर कुनै पनि अन्तर्राष्ट्रिय फोरमहरूमा चीन ताइवानको अस्तित्व स्वीकार्दैन।

चीनको प्रभाव बढ्दै गएपछि धेरै मुलुकहरूले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै गएका थिए। अहिले ताइवानसँग भ्याटिकन सिटीसहितका १४ मुलुकले मात्र कूटनीतिक सम्बन्ध राखेका छन्।

अबको केही महिनापछि चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनबाट तेस्रो कार्यकालका लागि चुनिने तयारीमा रहेका चिनफिङलाई पेलोसीको ताइवान भ्रमण चिढ्याउने खालको थियो।

केही दिनअघि अमेरिकी समकक्षी जो बाइडेनसँग झन्डै दुई घन्टा बढी भएको टेलिफोन वार्तामा पनि चिनफिङले पेलोसीले ताइवान भ्रमण गर्न नहुने र उनी ताइवान गए कडा प्रतिरोध गर्ने चेतावनी दिएका थिए। बाइडेनले संसदकी प्रमुख भएकाले पेलोसीले कुन-कुन ठाउँमा भ्रमण गर्ने आफैं निर्णय गर्ने बताएका थिए।

अनौपचारिक रूपमा बाइडेनले पेलोसीले ताइवान भ्रमण नगरे पनि हुन्थ्यो भन्ने सन्देश पुर्‍याएका थिए। लामो समयदेखि चीनकी कटू आलोचक रहेकी पेलोसी यसपालि ताइवान जाने कुरामा दृढ थिइन्। अब अर्को कार्यकाल सभामुख नहुने बताएकी पेलोसी सभामुखका हैसियतमा ताइवान जान चाहन्थिन्। उनको यो भ्रमण गत अप्रिलमै हुने भनिएको थियो, कोरोना संक्रमण भएपछि उनी भ्रमणमा निस्कन पाइनन्।

चीनले तिब्बत, सिन्जियाङ र हङकङमा गरेको मानव अधिकार उल्लंघनका कुरालाई अमेरिका-चीनको आर्थिक सम्बन्ध नराम्रो हुन्छ भन्ने बहानामा नदेखेझैं गर्न नहुने उनको धारणा थियो। चिनियाँ नेतृत्वलाई उनीहरूले चालेका कदमप्रति जिम्मेवार बनाउन पर्छ भन्नेमा पेलोसी दृढ छन्।

यसअघि उनले यही वर्षको सुरूमा भएको बेइजिङ विन्टर ओलम्पिक अमेरिकाले कूटनीतिक रूपले बहिष्कार गर्नुपर्ने बताएकी थिइन्। त्यसो त आजभन्दा ३१ वर्षअघि पनि पेलोसीले तियामेन स्क्वायरमा गएर चीनमा प्रजातन्त्र हुनुपर्छ भन्ने सन्देश दिएकी थिइन्।

सन् १९८९ मा बेइजिङको तियामेन स्क्वायरमा प्रजातन्त्र माग गर्दै थुप्रै विद्यार्थीले प्रदर्शन गरेका थिए। चिनियाँ सरकारले उनीहरूमाथि ट्यांकर कुदाएर दमन गरेको आरोप छ।

उक्त घटनाको दुई वर्षपछि बेइजिङ पुगेको पेलोसीसहित अमेरिकी सांसदको टोलीले तियामेन स्क्वायरमा गएर चिनियाँ र अंग्रेजीमा ‘चीनमा प्रजातन्त्रका लागि ज्यान गुमाएकाहरूका लागि’ लेखिएको ब्यानर देखाएको थियो।

अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा निर्वाचन क्षेत्र भएकी पेलोसीले त्यसयता चीनमा मानव अधिकार उल्लंघन भएको विषयलाई निरन्तर उठाइरहेकी छन्। उनी दलाई लामाकी समर्थक हुन्। सन् २०१५ मा चीन सरकारको अनुमति लिएर उनले ल्हासा भ्रमण पनि गरेकी थिइन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal