
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकतालाई अगाडि बढाउने निर्णय भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गरेर दुबै पार्टी सम्मिलित वार्ता समितिले गरेको लामो छलफलपछि पार्टी एकता गर्ने सहमित जुटेको जानकारी गराएका छन् ।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा पार्टी एकता प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समितिसमेत गठन गरिएको उल्लेख छ । संयुक्त प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत पार्टी एकता प्रक्रियामा सामेल हुन आह्वान समेत गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दुवै नेतृत्व सहित वार्ता टोलीहरूका बीच संयुक्त बैठक बस्यो । ब्यापक छलफल पछि सो बैठकले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको छ । यस अवसरमा हामी सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौँ ।’
आधारभूत कुराहरूमा मिल्दै गएको स्रोतले जनाएको छ । वार्ता टोलीको १९ गतेको बैठकमा दुई पार्टीका प्रमुखहरूसहितको छलफलबाट पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरिएको थियो । साथै बाहिर छरिएर रहेका क्रान्तिकारी पार्टी, सङ्गठन/मोर्चा र व्यक्तिहरूलाई पनि यो एकता अभियानमा सहभागी हुन अपिल गरिएको छ ।
नेपालमा रहेका विभिन्न नामका कम्युनिस्ट पार्टीहरूको ठूलो हिस्सा संसदीय व्यवस्थामा आत्मसमर्पण गरेकाले जनतामा उत्पन्न भएको निरासा अविश्वासलाई यी क्रान्तिकारी पार्टीहरूबीचको एकता हुने सन्देशले विश्वास र आशा जगाइदिने अपेक्षा राखिएको छ भने, जवरजस्त क्रान्तिकारी ध्रुवको निर्माण हुने र वैकल्पिक शक्ति र सत्ताको निर्माण हुने सम्भावना बढेर गएको छ ।