आज :

अखिल क्रान्तिकारीले त्रिविलाई बुझायो ११ बुँदे मागपत्र, माग पूरा नभए आन्दोलनमा जाने घाेषणा

  • अनलाइन डबली

काठमाडौँ । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयलाई मागपत्र बुझाएको छ । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले त्रिवि उपकुलपतिको कार्यालयलाई वार्षिक कार्यतालिकाअनुसार व्यवस्थित पठनपाठन, परीक्षा र परीक्षाफल प्रकाशित नहुनु, वरिष्ठता, योग्यता र क्षमताका आधारमा नभई राजनीतिक दलका कार्यकर्ता भर्ती गर्न बन्द गरिनुपर्नेलगायतका मागहरु राखेको छ ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज गोविन्द विष्टको नेतृत्वमा गएको टोलीले माग बुझाएको हो । पछिल्लो समय खोज, अध्ययन र अनुसन्धानको केन्द्र बन्नुपर्ने नेपालको पहिलो र ठूलो त्रिभुवन विश्वविद्यालय राजनीतिक भागबण्डाको चक्रब्यूहमा फसेर दिनप्रतिदिन धराशयी बन्दै गइरहेको मागपत्रमा उल्लेख छ ।

त्यस्तै, अखिल क्रान्तिकारीले विद्यार्थीको चाप धेरै भएका कार्यक्रमहरू आर्थिक प्रलोभनमा परी निजी कलेजलाई सम्बन्धन दिने कार्य तत्काल बन्द गरी त्रिविका आङ्गिक क्याम्पसहरूमा विद्यार्थीको चाप र आवश्यकता भएका कार्यक्रमहरू सञ्चालन गर्न माग समेत गरेका छ । त्यस्तै, परीक्षा र परीक्षाफल प्रकाशित नहुनु, वरिष्ठता, योग्यता र क्षमताका आधारमा नभई राजनीतिक दलका कार्यकर्ता भर्ती गरिनु, सङ्गठनको आवरणमा हुने गुण्डागर्दी, कमिसनको खेलमा भइरहेको त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण र दुरुपयोग, आर्थिक चलखेलमा हुबहु प्रश्नपत्र दोहोरिने र सम्बन्धन दिनेलगायत घटनाहरूले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर र विश्वसनीयता खस्कँदो रहेको जनाएको छ ।

यस्ता छन् मागहरुः

१. केन्द्रीय क्याम्पसलगायत त्रिविका सबै आङ्गिक क्याम्पसहरूको पठनपाठन नियमित र व्यवस्थित गरी वार्षिक कार्यतालिकाअनुसार परीक्षा र परीक्षाफल प्रकाशित गरियोस् ।

२. त्रिविलाई राजनीतिक दलको अखडा बनाइएको छ । वरिष्ठता, योग्यता र क्षमताका आधारमा आवश्यक दरबन्दी पूर्ति गर्नुको साटो दलका कार्यकर्ता भर्ती गर्ने र स्थायी गर्ने प्रवृत्तिले त्रिवि धराशयी बन्दै गइरहेको छ । तत्काल आंशिकलाई करार र करारलाई स्थायी गर्ने चक्र बन्द गरी सेवा आयोगमार्फत दरबन्दी परिपूर्ति गरियोस् ।

३. त्रिविमा लामो समयसम्म भइरहने तालाबन्दी र हडतालले शैक्षिक वातावरण खल्बलिएको छ । विद्यार्थीका जायज मागहरू तत्काल सम्बोधन गर्ने संयन्त्र खडा गरी विश्वविद्यालय सधैँ खुला गरियोस् ।

४. त्रिविको जग्गा भूमाफियाहरूको साँठगाँठमा अतिक्रमण र भाडामा दिने नाममा व्यापक दुरुपयोग भइरहेको छ । तत्काल भाडा सम्झौता खारेज गरी सार्वजनिक सम्पत्तिको संरक्षण गरियोस् । साथै त्रिविको केन्द्रीय क्याम्पसमा भइरहेको गौचरन र डम्पिङसाइट तत्काल बन्द गरियोस् ।

५. त्रिविअन्तर्गतका सबै क्याम्पसहरूमा दिइने छात्रवृत्ति प्रतिशत वृद्धि गरी छात्रवृत्ति पारदर्शी ढङ्गले लक्षित वर्गलाई उपलब्ध गराइयोस् ।

६. पछिल्लो समय त्रिविमा सङ्गठनको आवरणमा अनैतिक र आपराधिक गतिविधिहरू भइरहेका छन् । बेलाबेला दिइने धम्की र प्रेम चलाउनेमाथि भएको साङ्घातिक हमला यसका ज्वलन्त उदाहरण हुन् । आपराधिक गतिविधिलाई निरुत्साहित गर्दै शान्त तथा भयरहित वातावरणमा अध्ययन, अध्यापन गर्ने वातावरण सिर्जना गरियोस् ।

७. त्रिविका सबै आङ्गिक क्याम्पसहरूमा पुस्तकालय थप व्यवस्थित गरी लाइब्रेरीको व्यवस्था गरियोस् । ८. त्रिविका सबै आङ्गिक क्याम्पसहरूमा कार्यतालिकाअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गरियोस् ।

९. विद्यार्थीको चाप धेरै भएका कार्यक्रमहरू आर्थिक प्रलोभनमा परी निजी कलेजलाई सम्बन्धन दिने कार्य तत्काल बन्द गरी त्रिविका आङ्गिक क्याम्पसहरूमा विद्यार्थीको चाप र आवश्यकता भएका कार्यक्रमहरू सञ्चालन गरियोस् ।

१०. त्रिविका आङ्गिक क्याम्पसहरूमा मापदण्डविपरीत गरिने भौतिक निर्माणहरू कडाइपूर्वक नियन्त्रण गरी उपयुक्त खेलमैदान र खेल सामग्रीको व्यवस्था गरियोस् ।

११. पछिल्लो समय नेपाली भाषामाथि निरन्तर अतिक्रमण भइरहेको छ । नेपाली भाषाको रक्षा र विद्यार्थीहरूको असहजतालाई ध्यान दिँदै त्रिविका सबै क्याम्पसहरूमा तयार गरिने प्रश्नपत्रहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार गरियोस् ।

मागहरू पूरा नगरे आन्दोलनमा जान बाध्य हुने विष्टले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal