
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।
ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ ।
‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’
प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’
पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।
विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’
थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको जनाइएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।
उक्त दलका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जीले जनविरोधी चरित्रलाई मलजल पुर्याएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरुविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसकाकारण अदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।