काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले उक्त जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए ।
मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त पत्राचारको सम्बन्धमा कान्तिपुरले अमेरिकी राजदूतावासमा राखेको जिज्ञासामाथि पब्लिक अफियर्स प्रमुख विल्करसनले जवाफ दिएका हुन् ।
‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं । हामी एसपीपीमा सरकार (नेपाल) को निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गर्छौं ।’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि अमेरिकालाई पत्राचार गरिसकेको बताइन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो ।
सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लुले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए ।