काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।
छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए। ‘हामीले समितिको म्याद बढाउन अनुरोध गर्ने भएका छौं। छानबिनको निम्ति अझै काम बाँकी नै छ,’ कर्णले भने।
समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसदमा निर्णायार्थ पेश गर्नुपर्नेछ। संसदले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ।
विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाएको छ। त्यहाँबाट पनि प्रतिवेदन नआएकाले निष्कर्षमा पुग्न समितिको म्याद थप गर्नुपर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए।
बिहीबारको बैठकमा समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो। समितिमा उनले सिसिटीभीको स्टोरेजबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै विज्ञसँग छलफल गर्न भनेका थिए।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशनै नभएको जिकिर गर्दै शर्माले आफ्नो विश्वास नलागे सुरक्षाकर्मी तथा मर्यादापालकलाई समेत सोधपूछ गर्न समितिलाई सुझाव दिए।


अनलाइन डबली


