काठमाडौँ । अगामी संघ र प्रदेशको चुनावमा सत्ता गठबन्धबीच चुनावी तालमेल गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल गर्ने र त्यसको लागि थप अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको जानकारी दिए । महतका अनुसार पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने निर्णय समेत बैठकले गरेको छ ।
“संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ” प्रवक्ता महतले भने । उनले तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने समेत बैठकले निर्णय गरेको बताए ।
कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय पनि गरेको छ ।