
काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए । ‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टी आएको छ ।
यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ उनले भने । धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘जनताको आक्रोश नबढोस्, चिन्ताको विषय यो हो ।’
सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उनले बताए । यस्तै नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्तिराष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् ।
उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पारे । उनले नेपाल कुनैपनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए ।
सांसद देवले नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताए ।