
काठमाडौँ । नेपालमा फेरि कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । लामो समयदेखि शून्य मृत्युदर भएको नेपालमा फेरि कोरोना सङ्क्रमण बढेसँगै एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५९ जना सङ्क्रमण मुक्त पनि भएका छन् ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ पुगेको छ । काठमाडौैँ जिल्लामा मात्र सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ४३ जना रहेका छन् । त्यस्तै सिरहामा ११ तथा कास्कीमा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
एक जनाको ज्यान जानुको साथै कोरोना भाइरस संक्रमिको संख्या बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न विज्ञहरुले सुझाव दिएका छन् ।