काठमाडौं । योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । शनिबार प्रधानमन्त्री निवसा बालुवाटार पुगेको वाइसिएलको टोली नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेकपा (माओवादी केन्द्र) को सहायक संगठन रहेको वाईसिएलले प्रधानमन्त्री देउवालाई बुझाएको ७ बुँदे ज्ञापन पत्रमा गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको छ ।
साथै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।
यसका साथै, किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गर्नुपर्ने र सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गर्न सरकारको ध्यानाकर्ण गराएको छ ।