
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभा संसद सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार आज दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।
उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् । गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् ।
उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराईको प्रस्तावकमा एमालेकै सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।
प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । गठबन्धनमा आवद्ध दलको बहुमत पुगेकोले भुसाल उपसभामुख बन्ने निश्चित जस्तै भएको हो । गठबन्धनमा आवद्ध नेपाली कांग्रेस ६३, नेकपा माओवादी केन्द्रको ४९, नेकपा एकीकृत समाजवादी २३, जनता समाजवादी २१ र राष्ट्रिय जनमाेर्चाको १ सांसद छन् ।
उता प्रमुख प्रतिपक्ष एमाले ९८ र लोसपा १३ साना सांसद रहेका छन् भने स्वतन्त्रसमेत गरी ३ जना सांसद छन् । उपसभामुख चुनावबारे निर्णय लिन अहिले लोसपाको बैठक बसिरहेको छ । एमाले र लोसपा मिलेर जान सक्ने बताइएको छ ।
विहीबार पहिले एमालेले लोसपाले उठाउने उम्मेदवारलाई सहयोग गर्ने बताएको थियो । तर सबैभन्दा ठूलो दलले सबैभन्दा सानो दललाई समर्थन गर्ने निर्णयविरुद्ध नेताहरु नै लागेपछि अन्तिममा एमालेले भट्टराईलाई उम्मेदवार बनाएको थियो ।