
विराटनगर । अर्थ तथा योजना विभाग सदस्यको सूचीमा गभर्नर महाप्रसाद अधिकारी नरहेको वक्तव्य निकालेको नेकपा एमालेको नक्कली एम अधिकारी खडा गर्न खोजेको पाइएको छ ।
एमालेले विराटनगरका एक जना चार्टर एकाउन्टेन्टलाई एम अधिकारी बनाएर सार्वजनिक गर्ने प्रयास गरेको पाइएको छ । सुरूमा एम अधिकारी बन्ने प्रस्तावमा सहमत भएका उनी अहिले सम्पर्कबिहीन भएका छन् ।
एमालेले हालै जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै चर्को विरोध भइरहेको छ ।
यही कारण अधिकारीमाथि राजीनामाको दबाव बढेपछि एमालेले बिहीबार विज्ञप्ति निकालेर उनी गभर्नर नभएको दाबी गरेको छ । तर एम अधिकारी को हुन् भन्ने बताएको छैन । भित्रभित्र भने एम अधिकारीका नाममा विराटनगरका चार्टर एकाउन्ट मनोज अधिकारीलाई उभ्याउन खोजेको पाइएको छ ।
अधिकारी स्वयंमले बिहीबार दिउँसो निकट साथीभाइसँग एमालेले एम अधिकारी बन्न प्रस्ताव गरेको बताएका थिए । ‘दिउँसो कुरा हुँदा एम अधिकारी बन्न प्रस्ताव आएको सुनाउनु भएको थियो,’ उनका एक सहकर्मीले भने, ‘तनाव छ भन्दै हुनुहुन्थ्यो, त्यसपछि फोन अफ गर्नुभयो ।’
उनी अहिले सम्पर्कबिहीन छन् । नेकपा एमाले प्रदेश १ का नेताहरुका अनुसार उनी केही महिना अघि मात्रै पार्टी प्रवेश गरेका थिए । एमालेको बिराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाका अनुसार स्थानीय तह निर्वाचन अघि पार्टी कार्यालयमा आयोजित वृहत पार्टी प्रवेश कार्याक्रममा सिए अधिकारी पनि एमालेमा प्रवेश गरेका थिए ।
उनी भर्खर चार्टर एकाउन्टेन्टहरुको संस्था ‘चार्टर एकाउन्टेन्ट संघ’को प्रदेश १ को अध्यक्ष बनेका हुन् । एमाले केन्द्रीय सदस्य विनोद ढकालले भने अधिकारी विगतदेखि नै पार्टी निकट रहेको बताए । तर एमाले मोरङका सचिव रुपेश खतिवडाले सिए मनोज अधिकारीलाई आफूले नचिन्ने बताएका छन् ।
उमेरले ३५ वर्षमात्र टेक्न लागेका मनोजलाई एमालेले डाक्टर र प्राध्यापक डाक्टरहरूभन्दा अगाडिको वरीयतामा राखेका एम अधिकारी बनिदिन जसोतसो मनाएको थियो ।
तर उनका चिनजानका साथीभाइ, आफन्त र शुभचिन्तकहरूले ‘फस्लास् है भाइ, यो त जेल जाने केश हुन्छ’ भनेपछि उनी फोन सम्पर्क नहुने बनाएर बसेको स्रोतको दाबी छ । यो समाचार तयार पार्दासम्म उनको फोनमा सम्पर्क हुन सकेको छैन ।
नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म तीव्र आलोचना भइरहेको छ ।
कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुने कानूनी व्यवस्था छ । तर, त्यसविपरीत गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागको सदस्य बनेको भन्दै सडकदेखि सदनसम्म उनको राजीनामा मागिएको छ ।
एमालेले यही असार २६ गते जारी गरेको ‘अन्तरपार्टी निर्देशन’मा ‘अर्थ तथा योजना विभाग’को सदस्यका रूपमा एम अधिकारीको नाम समावेश छ । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ ।
तर, नक्कली एम अधिकारी बनाउन खोजिएका व्यक्ति खोटाङका भने होइनन् । खोटाङमा अर्थ विभागको सदस्य बनाउन योग्य अर्को कुनै एम अधिकारी नभेटिएपछि खोटाङबाट मोरङ झरेको भन्ने आशयमा मनोजलाई एम अधिकारी बनाउन प्रयास गरिएको स्रोतको दाबी छ ।