
काठमाडौं । तीज आउन करीब डेढ महिना बाँकी रहेपनि युट्युबको बजारमा तीजको रौनक सुरु भएको छ । यस वर्षको तीज सुरु नहुँदै युट्युबमा तीज लक्षित गीत आउन थालेका छन् । युवा सर्जक तथा गायक भागीरथ चलाउनेको नयाँ तीज गीत ‘झमझम झुम्काना’ छोटो समयमै युट्युबमा सबैभन्दा चर्चाको शिखरमा पुगेको छ ।
चार दिनअघि मात्रै सार्वजनिक ‘झमझम झम्काना’ बोलको तीज गीतले दर्शकको मन जितेको छ । यो गीतको भिडिओले युट्युब ट्रेडिङको पहिलो स्थान ओगट्न सफल भएको छ । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । यसै गीतमा करीब एक लाखले टिकटकमा भिडियो पनि बनाइसकेको गायक चलाउनेको दाबी छ ।
गीतलाई युट्युबमा अहिलेसम्म साढे ७ लाखले हेरिसकेका छन् । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । बोमबहादुर गाहा मगरले शब्द सिर्जना गरेका हुन् । गीतको लय भने गायक चलाउनेकै रहेको छ ।