
काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ बासिल राजापाक्षे सोमबार श्रीलंकाको कोकोहोलोबाट बच्नका लागि अमेरिका जान खोजिरहेका थिए तर विमानस्थलमा अध्यागमन कर्मचारीको विरोधपछि उनी फर्कनुपरेको थियो ।
एकातिर जहाँ सर्वसाधारणलाई अन्नको एउटा–एउटा दाना पनि महत्वपूर्ण छ, अर्कोतर्फ बासिलले अमेरिका जानका लागि १.१३ लाख श्रीलंकाली भारुमा बिजनेस क्लासको चारवटा टिकट खरिद गरेका थिए ।
यस्तै, अर्कोतर्फ श्रीलंकाको प्रमुख विपक्षी पार्टी समागी जाना बालवेगया (एसजेबी) का प्रमुख सजित प्रेमदासा श्रीलंकाको अन्तरिम राष्ट्रपति बनाइएका छन् ।
एसजेबीले सोमबार निर्विवादित रुपमा प्रेमदासलाई अन्तरिम राष्ट्रपतिको पदका लागि नामांकन गरे । श्रीलंकामा राष्ट्रपति चुनाव २० जुलाईमा हुँदैछ । यसअघि गोटबायाले १३ जुलाईमा राजीनामा दिनेछन् र १५ जुलाईमा संसदको सत्र बोलाइनेछ ।
गोटाबाया राजपाक्षे देशमै छन्
अर्कोतर्फ राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर गएको अड्कलबाजी भइरहेको छ । सभामुख महिन्दा यापाले यी अनुमानको खण्डन गरेका छन् ।
उनले गोटबाया देशमै रहेको बताए । महिन्दा यापाले एक अन्तरवार्तामा राष्ट्रपति गोटबाया देश छोडेर भागेको बताएका छन् । तर, विवाद चर्किँदै गएपछि उनले राष्ट्रपति देशमा रहेको भन्दै आफूले गल्तीले पहिलो अभिव्यक्ति दिएको बताए ।
यसैबीच श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास पुनः वितरण सुरु भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन पुनः वितरण भएको हो ।
सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
लाइनमा हजारौं थकित मानिसहरूको भिड देखिन्थ्यो । महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूति गरेका छन् ।
श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । अत्याधिक मुद्रास्फीतिले मूल्यवृद्धि गरेको छ । देशको विदेशी मुद्रा सञ्चिति सबै सकिएको छ । खाद्यान्न, इन्धन र औषधि आयात गर्न टापु देशले ठूलो संघर्ष गरिरहेको छ ।
संकटका कारण क्रुद्ध बनेका सर्वसाधारण यसै सप्ताहन्तमा राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका थिए । राष्ट्रपतिले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् ।