आज :

आधा घन्टामा फर्किन्छु भनेर घरबाट हिँडेकी सुदिक्षा होटलमा यस्तो अवस्थामा भेटिइन्, सबै स्तब्ध

  • अनलाइन डबली

काठमाडौँ । बुटवल-२ पाखापानीकी १६ वर्षकी सुदिक्षा गुरूङले यसैपालि एसईई परीक्षा दिएकी थिइन्। एसईईपछि उनी काठमाडौं गएर स्टाफ नर्सका लागि ब्रिज कोर्सको तयारी गरिरहेकी थिइन्।

काठमाडौंमा उनकी फुपु पनि बस्थिन्। उनी कानुनमा स्नातक पढिरहेकी थिइन्। फुपु-भदै सँगै बस्थे। केही दिनअघि उनकी फुपुको विवाहको टुंगो लाग्यो। आज सोमबार उनको विवाह हुने तयारी थियो।

त्यसैका लागि सुदिक्षा र फुपु असार २३ गते बुटवल पुगे। त्यो दिन उनीहरू बुटवलको इँटाभट्टीमा आफन्तको घरमा बसे। अर्को दिन बिहान ९ बजेतिर स्कुटरमा आएका एकजना युवकसँग सुदिक्षा आधा घन्टाको लागि भन्दै फुपुसँग विदा मागेर घरबाट निस्किइन्।

आधा घन्टाका लागि भन्दै हिँडेकी सुदिक्षा दिउँसोसम्म पनि घर फर्किनन्। फुपुलाई म्यासेज गरेर साथीहरूसँग फिल्म हेर्दै गरेको र केहीबेरमा घर आउने बताइन्।

दिउँसो म्यासेज गरेकी सुदिक्षा साँझसम्म पनि घर नपुगेपछि फुपु आफैंले फोन गरिन्। जवाफमा सुदिक्षाले केहीबेरमा घर आउने भनिन्। केहीबेरमा आउने भन्दै बिहानै घरबाट हिँडे पनि साँझसम्म नफर्किएपछि फुपुले सुदिक्षालाई हप्काएर छिटो घर आउन भनेकी थिइन्।

त्यसपछि भने सुदिक्षा न घर फर्किइन् न त घरबाट आउने फोन नै उठाइन्। शनिबार दिउँसो ४ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै शुक्रबार युवकको साथ घरबाट हिँडेकी सुदिक्षाको शंकास्पद मृत्युबारे उनको परिवारले थाहा पायो।

शुक्रबार राती एक युवकको साथमा बुटवल वडा नं. ३ गोलपार्कस्थित गोलपार्क होटलमा पुगेकी सुदिक्षा शनिबार दिउँसो मृत भेटिइन्।

प्रहरीका अनुसार शुक्रबार राती एक जना युवकभन्दा आधा घन्टापहिले होटलमा पुगेकी सुदिक्षा आफैंले होटलको कोठा बुक गरेकी थिइन्। युवक भने आधा घन्टा पछिमात्रै होटल पुगेका थिए। कोठा बुक गर्दा सुदिक्षाले केहीबेरमा दाइ पनि आउने बताएकी थिइन्।

होटल सञ्चालकले प्रहरीलाई बताए अनुसार रातभर कोठामा सँगै बसेका युवक शनिबार बिहान आठ बजेतिर कोठाको भाडा बुझाएर होटलबाट निस्किएका थिए।

दिउँसो १२ बजेसम्म सुदिक्षा ननिस्केपछि होटलवालाले ढोकामा हानेका थिए। भित्रबाट कुनै आवाज नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले होटल व्यवसायी र स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फोरेर हेर्दा सुदिक्षा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। अहिले उनको शव पोष्टमार्टम गरी लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन।

सुदिक्षाका परिवारले भने नाबालिगलाई कोठा दिनु र सँगै गएका युवक होटलबाट निस्किँदा सुदिक्षा किन निस्किएन भनेर खोजी नगर्नू होटल सञ्चालकको गम्भीर कमजोरी भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

उनीहरूले घटनामा को-को संलग्न छन् अनुसन्धान गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गरेका छन्। सुदिक्षाकी फुपुले यो घटनामा घरबाट स्कुटरमा राखेर ल्याउने युवकदेखि राती होटलमा जाने युवक समेतको संलग्नता हुनसक्ने भएकोले छानबिन गर्न आग्रह गरिन्।

उनले होटल सञ्चालकले दुई-चार सय रुपैयाँ कमाउने लोभमा नाबालिगलाई कोठा दिँदा घटना भएको भन्दै होटल सञ्चालकलाई पनि गहिरो छानबिन गर्न माग गरेकी छन्।

‘होटलमा धन्दा चलाएर दुई-चार सय कमाउने लोभमा नाबालकलाई कोठा दिनु ठूलो कमजोरी हो। रातीको समयमा नाबालिग केटीले कोठा बुक गरे पनि युवकलाई कुनै परिचय पत्र नराखी कोठामा जान दिएको छ, यो कहाँसम्मको लापरवाही हो,’ उनले भनिन्।

होटल सञ्चालकले भने युवतीले कोठा बुक गर्दा नाम सुदिक्षा गुरूङ र ठेगाना बुटवल पाखापानी भनेर टिपाएको र दाइ आउने भनेपछि कोठामा जान दिएको प्रहरीलाई बयान दिएका छन्।

सामान्यत: एउटै कोठामा बसेका पाहुना कोठाबाट निस्किँदा सँगै निस्किनु पर्नेमा ती युवकले बिहान ८ बजेतिर पैसा बुझाए पनि कति बेला निस्किए भन्ने आफूले ख्याल गर्न नसकेको होटल सञ्चालकले बताएका छन्।

प्रहरीले होटल सञ्चालकसँगै सुदिक्षालाई घरबाट ल्याउने युवक र अरू केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र पौडेलले घटनासँग जोडिएका शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्ने र थप अनुसन्धानको काम भइरहेको जानकारी दिए। उनीसँग शुक्रबार राती होटलमा बसेका युवक को हुन् भन्नेचाहिँ अहिलेसम्म पत्ता लागेको छैन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal