आज :

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा कांग्रेस बैठक केन्द्रित हुनेछ। चुनाव भएको करिब दुई महिना हुन लाग्दा कांग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न लागेको हो।

यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।

कांग्रेसले ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो। गठबन्धन गरेका र एक्लै जितेका ठाउँ र मतबारे विश्लेषणसहित प्रतिवेदन पनि कांग्रेसले तयार पारेको छ।

चुनावी समीक्षाबाहेक केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष चयन गरिनुपर्ने, संसदीय समिति, कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्ने र विभागहरू तथा समितिहरू गठन गरिनुपर्ने एजेन्डा पनि प्रवेश हुने एक केन्द्रीय सदस्यले बताए।

सभापति शेरबहादुर देउवाले छ महिनाभित्र गरिसक्नुपर्ने मनोनीत काम अहिलेसम्म गरेका छैनन्। २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।

साथै भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका महाधिवेशन सुनिश्चित गर्नुपर्ने, नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग पनि उठेको छ। कांग्रेसले केही नयाँ भातृ तथा शुभेच्छुक संघसंस्थालाई मान्यता दिन लागेको छ।

यसबारे पनि केन्द्रीय समितिमा छलफल गरी निर्णय लिने कांग्रेसले जनाएको छ। सभापति देउवाले विभाग तथा भ्रातृ संघसंस्थाबारे आवश्यक निर्णय लिइने बताइरहेका छन्।

नेता शेखर कोइराला पक्षले सरकारका कामकारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताएको छ। आइतबार कोइरालाको सचिवालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्य भेलाले सरकारका कामकारबाहीबारे गम्भीर समीक्षा हुनुपर्ने र सभापतिले विधि र विधान अनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

केन्द्रीय समितिमा हुने अर्को छलफलको विषय आगामी संसदीय र प्रदेश सभा सदस्य निर्वाचनबारे हो। सम्भवत मंसिरमा हुने उक्त निर्वाचनका लागि गठबन्धनलाई सँगै लैजाने कि नलैजाने भन्ने विषयमा केन्द्रीय सदस्यहरूबाट धारणा लिने तयारीमा कांग्रेस छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा गठबन्धनलाई चुनावसम्मै लैजाने पक्षमा छन्। एक्लै गएर बहुमत नआउने भएकोले अरू दलसँग जानुपर्ने बाध्यता रहेको देउवा बताउँछन्।

यीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे पनि आज छलफल हुनेछ। साथै कोइराला पक्षका विद्यार्थीहरूले आज सानेपास्थित पार्टी कार्यालय घेराउ गर्ने तयारी गरेका छन्। भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग उनीहरूको छ।

सभापति देउवाले नेविसंघ र तरूण दलमा अध्यक्ष मात्रै तोकेका छन्। अध्यक्ष तोक्दा कोइरालासँग परामर्श नगरिएको भन्दै विरोध पनि भइरहेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक स्थानीय चुनावी समीक्षामा केन्द्रित रहनेछ भने पार्टीका केही आन्तरिक विषयमा पनि छलफल गर्ने तयारी छ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका विधान पारित गर्नेबारे पनि छलफल हुनेछ। पदाधिकारी बैठकले नयाँ भ्रातृ संस्था थप गर्न आवश्यक छलफलसमेत यसअघि गरिसकेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal