
काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ ।
आइतबार काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
काँग्रेसमा १३ वटा भ्रातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मंस्यौदा तयार गरिएको बताइएको छ ।
यस्तै सोमबारको केन्द्रीय समितिको तयारीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग थप छलफल गरिने भएको छ।
त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग आजै छलफल हुने महतले बताए । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार दिउँसो भारत प्रस्थान गरेकी छन् ।
उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुंगो लगाइएको छैन । स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।