
काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिलेसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो। जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो।
सुरूमा असार २ गते हैजा देखिएको थियो। काठमाडौंको बागबजार बस्ने एकै परिवारका दुई जनामा पुष्टि भएको थियो। त्यसको भोलिपल्टै ललितपुरको सानेपामा पनि देखिएको थियो।
असार ५ गते फेरि डिल्लीबजारमा चौथो केस देखिएको थियो। असार ६ गते बुढानिलकण्ठ-१० कपनका एक जनामा र असार ७ गते काठमाडौं-१६ बोराटारमा पनि हैजा देखिएको थियो।
अहिले तीन जना अस्पतालमा उपचाररत छन्। दुई जना भने पाँच वर्ष मुनिका बालबालिकामा हैजा देखिएको हो। बिज्ञहरुले यो डरलाग्दो अवस्था हुनसक्ने भन्दै सचेत रहन चेतावनी दिएका छन् ।
यसैबीच नेपालमा कोरोना संक्रमण निरन्तर लागेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । यस्तै, थप ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।