
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्न कमिटी गठन गर्ने भएको छ ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा समिति बनाएर अन्तर्घात गर्नेलाई कारवाही गर्ने तयारी गरेको हो ।
गत वैशाख ३० गते भएको स्थानीय चुनावमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारलाई हराउन नेतालाई कारवाही गर्न कमिटी बनाएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।
‘स्थानीय चुनावमा माओवादीमा धेरै उम्मेदवारमाथि अन्तर्घात भएको सूचना आएको छ । त्यसैले छानविन गर्न टंकजीको नेतृत्वमा ५ सदस्य कमिटी बनाउनेछौ त्यसमा स्थायी समिति सदस्यबाटै पर्नुहुन्छ’ पोखरेलले भने, ‘कमिटीले १५ दिन लगाएर छानविन गरेर रिपोर्ट बुझाउने छ ।
यदि पार्टीका उम्मेदवार हराउन कुनै नेताको संलग्नता भएको पुष्टी भएमा कारवाही हुन्छ ।’ पार्टीका उम्मेदवार हराउने नेताको पुष्टि भए पार्टीबाट समेत निष्कासन गरिने पोखरेलले बताए ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश भएको प्रतिवेदनमा कतिपय स्थानीय तहमा पार्टीभित्रको गुटबन्दी, असहयोग एव अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाहरू देखा परेको औंल्याएको छ ।
पार्टीमा हुने गुटबन्दी, असहयोग र अन्तर्घात जस्ता पार्टी विरोधी गतिविधिहरूको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । उम्मेदवार हराउने पार्टीमा ठुलो रोग भएको भन्दै प्रचण्डले त्यसका विरुद्ध कठोर हुने बैठकमै प्रतिवद्धता जनाएका छन् ।