काठमाडौं । नेकपा (माओवादी केन्द्र) को दुई दिन स्थगित केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी शिर्ष नेताहरुको व्यस्तता र तयारी तथा बुधबार संसद बैठकमा उपस्थित हुनुपर्ने भएपछि बैठक स्थगित गरिएको थियो ।
माओवादी केन्द्रको केन्द्रीया कार्यालयका अनुसार बैठक आज विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा पुनः बस्ने भएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न तथा धारणको अध्यक्ष प्रचण्डले आज जवाफ दिने कार्यसूची रहेको छ ।
नेताहरुका अनुसार अध्यक्ष प्रचण्डले पदाधिकारीको सेट पनि पेश गर्ने तयारी गरेका छन् । त्यसको लागि अन्तिम गृहकार्य भइरहेको छ । विहानैबाट शिर्ष तथा आकांक्षी नेताहरुसँग प्रचण्डले छलफल गरिरहेका छन् ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले पदाधिकारीको टुंगो लगाउनु पर्ने धारणा राखेका थिए । संघ र प्रदेश चुनावपछि पदाधिकारीको टुंगो लगाउनेबारे पनि माओवादी केन्द्रका शिर्ष नेताहरुबीच छलफल भएको थियो । तर, केन्द्रीय समितिमै पदाधिकारीको टुंगो लगाएर चुनावमा होमिनु पर्ने बोल्ने नेताहरुले बताएका थिए ।
चुनाव गरेरै भएपनि पदाधिकारीको टुंगो लगाउन माग गरेपछि आजको बैठकमा प्रचण्डले पार्टीको तर्फबाट सूची पेश गर्नेछन् । त्यसमा सहमति नभए चुनाव जान सकिने एक नेताले बताए । तर सबैलाई सहमत बनाएरै पदाधिकारीको सेट बनाउने प्रचण्डले प्रयास गरेका छन् ।
प्रचण्ड सकेसम्म चुनावमा जान नदिने पक्षमा छन् । कुनै पनि हातलमा नेताहरुमा सहमति नजुटे चुनावको विकल्प पनि खुला गरिएको छ । माओवादी केन्द्रमा अन्य पद भन्दा पनि महासचिवमा कुरा नमिलेको हो ।
महासचिवका मुख्य दावेदार निवर्तमान अर्थमन्त्री प्रभाकर र अर्का नेता वर्षमान पुन अनन्त देखिएका छन् । पछिल्ला दिनमा प्रभाकर र अनन्तबीच पनि छलफल भइरहेको बताइएको छ । स्रोतका अनुसार दुई नेताबीच पार्टी नेतृत्व र सरकारको नेतृत्वमा मिलेर जाने सहमति भएको बताइएको छ । यदि अन्तिममा दुई नेताबीच सहमति नभए देव गुरुङ, हरिबोल गजुरेल र पम्फा भुसालमध्येबाट एकजना महासचिव बन्ने एक नेताले बताए ।
अब पार्टीबाट सरकार जाँदा अनन्तले नेतृत्व गर्ने र पार्टी संगठनको नेतृत्व प्रभाकरले गर्ने दुई नेताबीच सैद्धान्तिक सहमति भएको छ । अध्यक्ष प्रचण्डले पनि प्रभाकरलाई ने महासचिव बनाउन चाहेको तर अनन्तको सहमति खोजेको बताइएको छ ।